म्याग्दीमा भेटियो किङ कोब्रा

समाधान संवाददाता २०८० वैशाख ८ गते ११:०९

गलेश्वर ।
म्याग्दीको बेनी नगरपालिका ९ घतानको एक घरमा ‘किङ कोब्रा’ भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखिएको हो ।

कोब्रा हेर्नेको भीड लागेको बेनी ९ घतानका चक्रबहादुर केसीले बताए । ९ वर्षदेखि पक्षी तथा जंगली प्राणीको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टि गरे ।

२०७६ जेठमा पनि घतानकै कोशीपानीको जंगलमा यस्तै कोब्रा फेला परेको थियो । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको यस्तो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले सुनाए ।

Advertisement

यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्नु आवश्यक छ । नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।

यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुन सक्ने अध्येता चोखालको भनाइ छ । यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसले टोकेको देखिँदैन ।

Advertisement

यो कोब्रालाई नचलाउने, नजिस्काउने र यसको नजिकमा नजाने हो भने सजिलै बच्न सकिने चोखालको भनाइ छ । यो विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका १६ देशमा मात्रै पाइन्छ ।

थाइल्यान्डको जंगली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ भएको छ । यसले आहाराको रुपमा अरु सर्पलाई नै खान्छ ।

कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया