मजदूरको स्वास्थ्य बिमा

समाधान संवाददाता २०८० वैशाख ८ गते १३:०२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेन्टरको संयुक्त योगदानमा पोखरा १५ का विपन्न मजदूरलाई स्वास्थ्य बिमा गरिएको छ । बिहीबार त्यहाँका ६१ मजदूर र उनीहरुको परिवारलाई स्वास्थ्य बिमा कार्ड वितरण गरिएको हो ।

३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेन्टरले बिमा गराएका हुन् । बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको जनाए ।

कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेन्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि कार्ड वितरण गरेका थिए । स्वास्थ्य बिमाकर्ता पवित्रा पौडेलले बिमा सेवाका बारेमा जानकारी गराएकी थिइन् । कार्ड प्राप्त गरेकाले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।

Advertisement

कार्यक्रममा सहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । वडा सदस्य आशीष भण्डारीले केही दिन यता छिमेकी मुलुकमा कोभिडको संक्रमण बढ्दै गएकोमा अब नेपाली पनि सचेत बन्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया