पोखरा म्याराथनबाट साढे ४ लाख बचत

पोखरा ।
१७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार बचत भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
मञ्चको पोखरामा शनिबार भएको १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा यो जानकारी दिइएको हो ।
फागुन ६ गते भएको म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट ६१ लख ६१ हजार ३ सय ७३ आम्दानी, खर्चतर्फ ५७ लाख १९ हजार ७ सय ८५ रुपैयाँ हुदा ४ लाख ४१ हजार ५ सय ८८ आम्दानी भएको मञ्चले जनाएको हो ।
सभामा नेपाली सेना पश्चिम पृतना उपरथि दीपककुमार बानियाले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनीय रहेको जनाए । उनले भने, ‘मञ्चको आयोजनामा हुने पोखरा म्याराथन होस् वा अन्य सामाजिक कृयाकलाप यसले सबैलाई हौसला मिलेको छ । नेपाली सेनासमेत मञ्चसँग सहकार्य गर्दै खेलकुद विकासमा अघि बढेको छ ।’
प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघीयता नआउँदा नीतिगत रुपमा धेरै समस्या रहेको उल्लेख गरे । मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद सहकार्य हुने प्रतिवद्धता जनाए ।
मञ्च तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले मञ्चको भूमिका खेलकुद विकासका लागि ऐतिहासिक रहेको जनाउँदै प्रदेशको खेलकुद जग बलियो बनाउन मञ्च सधै सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दिननाथ बराल लगायतले बोलेका थिए ।
सभामा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले संस्थाको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने संस्था तथा व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मञ्चले १८ औं संस्करणको तयारी थालेको जनाएको छ । आगामी संस्करणमा पुरस्कारको कुल राशि २५ लाख पुर्याउने घोषणा भएको छ । साथै, एथ्लेटिक्स खेलाडी तथा निर्णायक उत्पादनका लागि कार्यक्रमअघि बढाउने र कार्यालय भवन निर्माणको योजनासमेत अघि सारिएको छ ।
तपाईको प्रतिक्रिया