छन्द दिवसमा यादवचन्द्र सम्मानित

समाधान संवाददाता २०८० वैशाख १० गते १०:५६

पोखरा ।
छन्द दिवसको अवसरमा कलाकार यादवचन्द्र भुर्तेल सम्मानित भएका छन् । २०५३ देखि पोखरेली स्रष्टा माधव वियोगीले छन्द संरक्षण अभियान थालेका थिए ।

छन्दलाई एकादेशको कथा हुन नदिन, काव्य संस्कृतिको रक्षा गर्न, युवा र बाल पुस्तालाई छन्दप्रति आकृष्ट पार्न तथा छन्दलाई जीवनशैलीका रूपमा विकास गर्नका लागि वियोगीले छन्द बचाऊँ अभियान–२०५३ को थालेका थिए ।

सोही अभियान सुरू भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार पञ्चांग निर्णायक समितिले छन्ददिवसका रूपमा मान्यता दिएको वियोगी बताउँछन् । त्यसअघि छन्द अभियन्ता माधव वियोगीले एकल रूपमा छन्द दिवस मनाउँदै आएका थिए ।

Advertisement

यसैबीच हरेक वर्ष छन्द दिवसमा प्रदान गरिने ‘माधव वियोगी सम्मान २०८०’ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरियो ।

कलाकार भुर्तेलले पानी रङका चित्रका माध्यमबाट बेथिति औंल्याई सुधारका लागि सबैलाई सचेत पारी पोखराको गौरव बढाएकोमा सो सत्कार्यको कदर गर्दै उनलाई सम्मान अर्पण गरिएको हो ।

Advertisement

छकलाकार भुर्तेललाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सो सम्मान अर्पण गरेका थिए । कुलपति बिखर्चीले सो अवसरमा सम्मानित व्यक्ति सुयोग्य कलाकार भएको चर्चा गर्दै छन्द दिवसका प्रणेता वियोगी पोखरेली गौरव भएको बताए । कलाकार भुर्तेलले आफूलाई योग्य ठानी सम्मान गरेकोमा धन्यवाद दिँदै कलाको साधनामा थप अघि बढ्न प्रेरणा पाएको उल्लेख गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्य र माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा डा. तुलसी प्रभासले छन् ददिवस छन्द बचाऊँ अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए । महाकाव्यकार वियोगीले छन्द अब बाँचेकाले आफू छन्द विश्वविद्यालय स्थापनाका लागि कसरत गर्दै रहेको बताए ।

यसअघि यो सम्मान कविवर तेजनाथ घिमिरे, महाकाव्यकार जनार्दनशरण त्रिपाठी र आख्यानकार सरुविन्द, लोकगायिका हरिदेवी कोइरालाले प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा छनौट गरिएका १६ छन्दकविले कविता वाचन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख संरक्षक सरिता घिमिरे र कोषाध्यक्ष छन्दिका त्रिपाठीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया