भारतीयलाई पोखराको निम्तो

समाधान संवाददाता २०८० वैशाख १० गते १२:५६

पोखरा ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धन पोखरासहित गर्दै अभियान सकिएको छ ।

कोभिड १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित बनेको अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम भएका हुन् ।

३ वैशाखमा पोखराबाट हिडेको २३ सदस्यीय टोलीले शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारसँग छलफल एवं अन्तरक्रिया भएको छ ।

Advertisement

‘प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामग्री विवरण गर्‍यौं’, उनले भने, ‘भारतका सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गरेका छौं ।’

भारतीय पर्यटन व्यवसायीले पोखरासम्म पुग्ने सडक बिग्रेको, सीमामा समस्या भोग्नु परेको जस्ता गुनासा सुनाएका छन्

Advertisement


अभियानले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको उनको दाबी छ । अन्तरक्रिया एवं व्यवसायी व्यवसायीको भेटघाट(बिटुबी) का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भए पनि त्यहाँसम्म पुग्ने बाटोको सहज अवस्था नभएको गुनासो गरे ।

टुरिजम एसोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भइरहँदा पोखरा जान असहज भएको जनाए । ‘यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन’, उनले भने, ‘पोखरासँगको कनेक्टिभिटीलाई प्राथमिकता दिन जरुरी छ ।’

कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटी एवं पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उनले जनाए ।

‘नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो’, उनी भन्छन्, ‘भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।’ बनारसका अग्रज पर्यटन व्यवसायी सन्दीप पटेलले पोखरा सबै मौसममा घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटीमा जोड दिए । ‘पोखरा र बनारस दुबै धार्मिक रुपमा पुग्नैपर्ने गन्तव्य हुन्’, उनले भने, ‘यी दुबै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीय रुपमा पनि जोड्न सकिन्छ ।’

नाट्टा गण्डकी प्रदेश महासचिव संगीता पौडेलले पोखरा धार्मिक साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिएको उल्लेख गरिन् । कार्यक्रममा भारतबाट आउने पर्यटकले सिमा क्षेत्रमा भोग्नु परेका समस्याका बारेमा पनि जिज्ञाशा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदर कुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्यधिक पर्यटक आउने जनाए ।

भारतीय सहरमा गरिएको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल बताउँछन् । पर्यटकीय साझेदारी, कनेक्टिभिटी लगायतमा भारतीय पर्यटकबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको र त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रवद्र्धनमा पोखराबाट छोटो दूरीमा नै विश्वकै आठ हजार मिटरभन्दा बढी उचाइका हिम श्रृखला अवलोकन गर्न सकिने जानकारी गराइएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले सुनाए ।

तपाईको प्रतिक्रिया