तिब्बती शरणार्थी शिविरमा विश्रामस्थल

समाधान संवाददाता २०८० वैशाख १० गते १६:००

पोखरा ।
टासालिङ तिब्बती शरणार्थी शिविर छोरेपाटनभित्र रहेका वृद्धवृद्धाहरुलाई सहज होस् भनी ‘डा.प्रदीप ज्येष्ठ नागरिक विश्रामस्थल’ निर्माण गरिएको छ । २ लाख ३० हजार रुपैयाँ जति खर्च गरी निर्मित विश्रामस्थल लायन्स क्लब इन्टरनेसनल ३२५ जेका डिस्ट्रिक गभर्नर ध्रुव श्रेष्ठले उद्घाटन गरे ।

ज्येष्ठ नागरिकहरुलाई सानो भए पनि दिन टहलाउनका लागि लायन्स क्लब अन्नपूर्णले प्रतीक्षालय बनाएको हो । डा. प्रदीप घिमिरेले सानो रकम भए पनि वृद्ध बुबाआमाका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

लायन्स क्लब अन्नपूर्णका पूर्व अध्यक्ष लायन्स क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकोमा शरणार्थी शिविरमा सहयोग गर्न पाएको घिमिरेले सुनाए । उक्त कार्यक्रमका संयोजक सोनाम साङ्पोका अनुसार सन् १९६४ सालमा स्थापना भएको शिविरमा ६ सयजना बसोबास गर्दै आएका छन् ।

Advertisement

शरणार्थी शिविरका प्रमुख हिसे छेटुगले लायन्स क्लब अन्नपूर्णले ज्येष्ठ नागरिकका लागि विश्रामस्थल बनाइदिएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विजय पौडेल र सञ्चालन सहसचिव गणेश छविले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया