दोबिल्ला–फलेवास सडक: ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्र

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख १० गते १६:५६

पर्वत ।

पर्वतको दोबिल्ला–फलेवास सडकको कालोपत्रको काम सकिएको छ । १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्र सकिएको हो ।

चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्ष नै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्र सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

Advertisement

२०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत २ वर्षमा काम सक्ने गरी २६ करोड ५१ लाखमा प्यासिफिक÷फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।

८ मिटर चौडा सडकमध्ये ५ दशमलव ५ मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । सडक कालोपत्रको काम २०७६ कात्तिक ११ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।

Advertisement

२ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको संक्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक/फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडक खण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।

यो सडक कालोपत्र भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ । फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघिनै कालोपत्रे भइसकेको थियो तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रूपमा समेत अघि सारेको थियो ।

मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडक खण्डअन्तर्गत दोविल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक ५ वर्षअघि नै कालोपत्र भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनउलासम्मको झण्डै १ किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको हो ।

कुश्मा बजारलाई दक्षिण पर्वतका ४ पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्र भए पनि मोदीखोलामा रहेको मोटरेवल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुहरूले सास्ती बेहोर्न बाध्य बनेका छन् । पछिल्लो समय मोटरेवल पुल निर्माणका लागि प्रक्रिया पनि सुरु भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया