४ वर्षपछि अन्तर्राष्ट्रिय सिरिज

भारतलाई हराउने दाउमा नेपाली दृष्टिविहीन महिला टिम

रिखिराम जिसी २०८० वैशाख १२ गते १०:४२

रिखिराम जिसी, पोखरा ।
अपांगता भएका व्यक्तिलाई कतिपयले दयाका पात्र जस्तो ठान्छन् । तर होइन उनीहरु फरक क्षमताका हुन् र आफ्नैखाले प्रतिभाका खानी हुन् । संयुक्त राष्ट्रसंघको महासन्धिले समेत अपांगता भएका व्यक्तिहरूको खेलकुदप्रतिको अधिकारलाई सुनिश्चित गर्दा समाजले भने अझै स्फूर्त रुपमा स्वीकार गरिसकेको छैन ।

दृष्टिविहीनले क्रिकेट खेल्छन् भन्दा त कतिलाई पत्यार पनि लाग्दैन । तर, नेपाली दृष्टिविहीन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत आफूलाई अब्बल सावित गरिसकेको छ ।

दृष्टिविहीन खेलाडी बज्ने बल र काठको मुंग्राको सहायताले खेलिने गरिन्छ । दृष्टिविहीन अझ त्यसमा पनि महिला, क्रिकेट खेल्नै हुन्न भन्ने नेपाली समाजको त्यो मनोविज्ञानलाई सन् २०१९ को फेब्रुअरीमा पाकिस्तानसँग भएको सिरिजले बदल्दियो ।

Advertisement

उक्त सिरिजमा नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टीमले ६ खेलमा ४ खेलमा जीत हासिल गर्दै सिरिज मात्रै जितेन नेपाली दृष्टिविहीन चेलिपनि खेल्न सक्छन् भन्ने पुष्टि गरिदियो । त्यसबाट दृष्टिविहीन नेपाली क्रिकेटको आसा पलायो ।

तर, उक्त सिरिज भएको भने अर्काे सिरिज आउन ४ वर्ष कुर्नुप¥यो । त्यसपछि केही घरेलु प्रतियोगिता भए पनि अन्तर्राष्ट्रिय खेल हुन सकेको थिएन । राज्यको नजरमा दृष्टिविहीन क्रिकेट खासै प्राथमिकतामा समेत छैन ।

Advertisement

नेत्रहीन क्रिकेट संघले ४ वर्षपछि विभिन्न संघसंस्थाको सहयोगमा नेपाल र भारतको दृष्टिविहीन महिला अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालमै आयोजना गरेको छ । मंगलबारबाट पोखरा रंगशालामा सुरु हुने उक्त सिरिजका खेलहरु पोखरा र काठमाडौंमा हुनेछन् । मंगलबार र बुधबार दुई खेल पोखरा र शुक्रबार, शनिबार र आइतबार काठमाडौंमा हुनेछन् ।

टोलीको नेतृत्व ४ वर्षअघि पाकिस्तानसँगको सिरिजमा कप्तानी गरिसकेकी भगवती भट्टराईले गरेकी छन् । भारतीय टोलीको कप्तानी सुष्मा पट्टेलले गरेकी छन् । दुवै कप्तानले एकअर्कासँग खेल्न उत्साहित भएको बताए ।

दृष्टिविहीन महिला क्रिकेट टोलीमा कप्तान भट्टराईसहित गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रीता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनीता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौला छन् ।

नेपालको तयारी राम्रो भएको र भारतलाई जित्ने लक्ष्य रहेको टोलीको प्रशिक्षक प्रजुले बताए । ‘हाम्रो तयारी राम्रै छ । करिब १ महिना पोखरामा प्रशिक्षण गरियो, खेलाडीहरु उत्सहित छन्,’ उनले भने ।

क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी समावेश हुनेछन् । प्रतियोगितामा विजेताले ७५ हजार रुपैयाँ, उपविजेताले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दृष्टिविहीन महिलाले पनि राष्ट्रका नाम राख्न सक्छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बताए । प्रतियोगिता जित र हारभन्दा पनि दृष्टिविहीनप्रतिको सोच बदल्न आयोजना गरिएको उनको भनाइ छ । उनले भने, ‘अवसर पाए दृष्टिविहीन महिलाले पनि राष्ट्रका नाम राख्न सक्छन् भन्ने सन्देश दिन खेल आयोजना गरिएको हो ।’

संघका महासचिव अमृत बरालले प्रतियोगिता रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको बताए । उनले प्रतियोगिताले दृष्टिविहीन महिलाहरुको खेलकुद प्रतियोगिता अधिकार सुनिश्चित गर्न टेवा पुग्ने विश्वास व्यक्ति गरे ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया