७ स्रष्टालाई प्रतिष्ठानको सम्मान

समाधान संवाददाता २०८० वैशाख १४ गते १३:४८

पोखरा ।
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ जना स्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली र गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ सम्मानित हुँदै छन् ।

उनीहरुलाई जनही १ लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित हुने छिन् । उनलाई नगद ५० हजारका साथमा सम्मानपत्र र दोसल्ला प्रदान गरिनेछ ।

Advertisement

गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की (परिवर्तन) र लक्ष्मी थापा सम्मानित हुने भएका छन् । उनीहरुलाई जनही नगद २५ हजारकासाथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य थिए ।

Advertisement

आगामी शुक्रबार विशेष कार्यक्रम आयोजना गरी सम्मान अर्पण गरिनेछ । सो कार्यक्रममा सम्मानित स्रष्टाले धुनमा कविता सुनाउनेछन् । झाँकी प्रदर्शन, नृत्य र गायनसमेत कार्यक्रमका आर्कषण हुन् । गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना स्रष्टाको बायोग्राफी तयार पारेको छ ।

परम्परागत गीत संरक्षण र स्रष्टा स्वास्थ्य बिम समेत थालनी भएका छन् । बाजा प्रशिक्षण, भाषा प्रशिक्षण, कार्यशाला लगायतका कार्यक्रमलाई यो वर्ष भएका छन् । प्रतिष्ठान २०७८ वैशाख १५ गते स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया