पूर्ण पौडेलको नाममा प्रतिष्ठान

समाधान संवाददाता २०८० वैशाख १४ गते १४:४०

पोखरा ।
जनयुद्धका क्रममा २१ वर्षपहिले बेपत्ता पारिएका अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा प्रतिष्ठान घोषणा भएको छ । सहिद, बेपत्ता तथा घाईतेहरुको हकहित र अधिकारका बारेमा बहस, पैरवी गर्न बुधबार पूर्ण पौडेल प्रतिष्ठान पोखरा गठन गरिएको हो ।

पौडेल तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका हुन् । प्रतिष्ठानको संरक्षकमा उनकी आमा मोतीमाया पौडेल छिन् । प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा केदारप्रसाद पौडेल, उपाध्यक्ष कमला पौडेल, सचिव सावित्रा दुरा र कोषाध्यक्ष तेजकुमारी पौडेल छन् ।

कार्यसमिति सदस्यमा बखानसिंह गुरुङ, महेन्द्रमणि पौडेल, कल्पना चिलुवाल, शिव खनाल, पूर्णजीत पुन, शुक्र चुमान, रविप्रकाश गुरुङ, डा रवि थापा, रश्मि थापा छन् ।

Advertisement

पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको प्रतिफल जनतालाई दिन नसक्दा असन्तुष्टि बढेको बताए । उनले सबै दल मिलेर जनताको विद्रोहलाई सुविचारी ढंगले सम्बोधन गर्नु खाँचो औंल्याए ।

‘जनतामा चरम असन्तुष्टि बढेको छ । जनतामा असन्तुष्टि बढ्नु गम्भीर विस्फोटको संकेत हो,’ उनले भने, ‘सबै दल रुपान्तरित भएर जिम्मेवारी बोध गरौं । आगामी दिनमा नयाँ ढंगले गएमा मात्र विकास सुशासन र समृद्धिको मागलाई सम्बोधन गर्न सकिन्छ ।’

Advertisement

डा भट्टराईले २ वर्षभित्र शान्ति प्रक्रियाका बाँकी सबै कामलाई टुंगोमा पुर्‍याउनुपर्ने विचार राखे । पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गर्ने बेलामा संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने अधिकार पाउनुपर्ने शर्त राखेको स्मरण गरे ।

आफ्नो सरकारको निर्णयका रुपमा अध्यादेश पारित गरी सिधै राष्ट्रपतिलाई बुझाएर सत्ता हस्तान्तरण गरेको उनले उल्लेख गरे ।

संक्रमणकालीन न्याय संवेदनशील विषय भएको उल्लेख गर्दै डा भट्टराईले संसदको विशेष समितिमार्फत छिटो टुंग्याउनुपर्ने बताए । उनले कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम गर्न नहुने उल्लेख गरे । द्वन्द्वपीडितको सवाल माओवादीको मात्र नभएर सबै दल र राज्यको सरोकारको विषय भएकोमा उनले जोड दिए ।

गण्डकीका मुख्यमन्त्री एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले पछिल्लो समय सामाजिक अराजकताको आवाजले आकार ग्रहण गर्न खोजेको जनाए । सामाजिक अराकताको चुनौतिको सामना नगरे राष्ट्र विघटन हुन सक्ने उनले संकेत गरे । उनले मिलेका विचारबाट पार्टी एकताको सुरुवात गर्न प्रस्ताव गरे ।

अधिकारीले भने, ‘त्यसका लागि म जुनसुकै तल्लो कमिटीमा बस्न तयार छु ।’ उनले संविधान बनाउन योगदान गर्ने दलबीचको एकता आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’बिप्लव’, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेकपा (बहुमत)का केन्द्रीय सदस्य गोकुल पराजुली, पूर्ण पौडेल प्रतिष्ठान पोखराका संरक्षक मोतीमाया पौडेल, प्रतिष्ठानका अध्यक्ष केदार पौडेल, सदस्य महेन्द्रमणि पौडेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी, पत्रकार कोमलनाथ बराल, विद्यार्थी प्रकाश बास्तोला लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया