स्वर्णिमको जितका ४ फ्याक्टर

रिखिराम जिसी २०८० वैशाख १४ गते १५:०१

रिखिराम जिसी, पोखरा ।
अर्थविद् डा स्वर्णिम वाग्लेले चैत १५ गते अपेक्षित रुपमा कांग्रेस परित्याग गरे । ३ पुस्तादेखिको आफ्नो पार्टी परित्यागको बदला उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवारी प्राप्ति भयो ।

कांग्रेसबाट उम्मेदवार बनेर संसदयात्रा गर्ने चाहना पूरा गर्न तनहुँमा दसकौंको कांग्रेस विरासत तोड्नुपर्‍यो । त्यसमा उनी कामयाव भए । वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिब १५ हजार बढी मत ल्याए । स्वर्णिमको जितमा ४ फ्याक्टरले काम गरेको देखिन्छ ।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

Advertisement

गोविन्दराज जोशीको समर्थन, युवाको साथ, प्रतिश्पर्धी अपरिचित हुनु र सत्ता गठबन्धनभित्रकै असन्तुष्टिले स्वर्णिमले सानदार जित निकाले

जोशी फ्याक्टर
गत मंसिरमा भएको निर्वाचनमा ६ हजार ८ सय ८६ मत ल्याएको गोविन्दराज जोशी समूहले उपनिर्वाचनमा उम्मेदवार उठाएसँगै कांग्रेसमा फर्काउन निकै कोसिस भयो । कांग्रेसले कारबाही फिर्ताको निर्णय गरेरै जोशी समूहलाई कांग्रेसमा फर्काउन हात धोएरै लागी परे ।

Advertisement

कांग्रेसका महामन्त्रीदेखि सभापति नै जोशी समूहलाई मिलाउन लागि परे । जोशी समूह पनि कांग्रेसमा फर्कन लचियो भयो, आफूहरुलाई सम्मानसहित पद दिए कांग्रेसमा फर्किने सार्वजनिक रुपमा धारा व्यक्त गरे । तर, अन्तिम समयमा कुरा भाँडियो र जोशी समूहले कांग्रेसलाई समर्थन नगर्ने जनायो ।

रास्वपाका सभापति रवि लामिछाने र गोविन्दराज जोशी, उनका छोरा दीपकराज जोशीबिचको भेटघाटबाट रास्वपालाई समर्थन गर्ने सहमति जुर्‍यो ।

कमजोर एमाले फ्याक्टर
गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका एमालेका सर्वेन्द्र खनाल तनहुँको उम्मेदवार बन्दा पार्टीका धेरै सदस्य असन्तुष्ट बनेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग समधुर सम्बन्ध बनाएर ६ महिनामा दुईपल्ट टिकट पाएका खनाललाई तनहुँ १ का एमालेले नै अस्वीकार गरे ।

धेरैले स्वर्णिम वाग्लेले कांग्रेसको भोट काट्ने अपेक्षा गरेका थिए । तर, स्वर्णिमले कांग्रेसको भन्दा धेरै भोट एमालेको काटे ।

मंसिर ४ को निर्वाचनमा एमालेले पाएको मतको आधाभन्दा पनि कम मतमा सर्वेन्द्र खुम्चिए । गत मंसिरका एमाले उम्मेदवार एकबहादुर रानाले करिब २० हजार मत ल्याएका थिए ।

उक्त क्षेत्रमा एमालेको सांगठनिक मत नै १६ हजार भन्दा बढी थियो । एकबहादुरले भन्दा खनालले साढे ११ हजार कम मत पाए ।

रविको आकर्षण/नयाँ पुस्ता
निर्वाचनको केही दिनअघि मात्र तनहुँका जनतासँग नजिक भएका स्वर्णिम फराकिलो मतले विजयी हुँदा यसको श्रेय रास्वपाका रवि लामिछानेलाई नै जान्छ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने गत मंसिरको निर्वाचनमा पाएको मतभन्दा धेरै मत ल्याएर विजयी भए । उनले आफूले मात्र जितेनन्, तनहुँमा स्वर्णिमलाई पनि जिताए ।

कांग्रेसको गढमा अनुभवी र इतिहास बोकेका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समेत पछार्न रविको आकर्षणसँगै युवा पुस्ताको साथको पनि महत्वपूर्ण भूमिका रह्यो । वाग्लेलाई नचिने पनि धेरैजसो मतदाताले रवि लामिछानेप्रति आकर्षित भएर भोट हाले ।

पुराना दलबाट वाक्क भएर नयाँ दलका उम्मेदवार, रास्वपाका उम्मेदवारलाई युवा पुस्ताले रुचाएको देखिन्थ्यो । तनहुँको १ मा नयाँ मतदाता अर्थात युवाको अधिकांश भोट डा. स्वर्णिमलाई गएको देखिन्छ ।

माओवादी फ्याक्टर
सत्ता गठबन्धनका दलको साझा उम्मेदवारका रुपमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बनेका थिए । यसअघि पनि सोही गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत पाउँदा भट्टराईलाई मात्र २० हजार मत आयो ।

त्यसको एउटा कारण माओवादी केन्द्रका कार्यकर्ता निरुत्साहित हुनु पनि हो । माओवादी केन्द्रले तनहुँ १ मा कांग्रेसलाई सघाएबापत गण्डकी प्रदेश सरकारको नेतृत्व पहिला आफूले गर्नुपर्ने माग राखेको थियो ।

तर, सरकारको आफूले गर्नुपर्ने अडान कांग्रेसले राखेपछि माओवादी केन्द्र असन्तुष्टि बनेको थियो । स्वर्णिमले ३४ हजार ९ सय १८ मत ल्याए । कांग्रेसका भट्टराई र एमालेका सर्वेन्द्र खनाल क्रमशः २० हजार १ सय २२ र ८ हजार ४ सय ८८ मा सीमित रहे ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको वडामै रास्वपाका उम्मेदवारले कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याए । चुमानको वडा आँबुखैरेनी गाउँपालिका २ मा १ हजार ३९२ मत खसेको थियो । जसमा रास्वपाका स्वर्णिमले ८८१ मत पाउँदा कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत पाएका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया