नागरिक समाज कास्कीको सपथ, सम्मान र नागरिक जागरण

समाधान संवाददाता २०८० वैशाख १५ गते १५:५०


पोखरा, १५ वैशाख
नागरिक समाज कास्कीका पदाधिकारी तथा सदस्यहरुको सपथ भएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको प्रमुख आतिथ्यमा शुक्रबार सपथ गरिएको हो ।

समाजका पदाधिकारी तथा सदस्यहरुलाई समाजको ७ बुँदे आचारसंहितासहितको सपथ गराइएको थियो ।


समाजको संयोजक नरेन्द्रमान लालचन, सहसंयोजक दुर्गाकुमारी शर्मा, प्रवक्ता गोकुलबहादुर कार्की, सहप्रवक्ता सूर्यनाथ पहारी, अर्थ संयोजक अर्जुन भण्डारी, संस्थापक रामबहादुर पौडेल, पूर्वसंयोजक विष्णुहरि अधिकारी, संस्थापक शशि तुलाचन र सदस्यहरु हरिश्चन्द्र अधिकारी, धीरज थापा, शिवप्रसाद बास्तोला, रामचन्द्र लामिछाने र अनिश पालिखे, शिवमाया श्रेष्ठ र शोभा श्रेष्ठ छन् ।

Advertisement


नागरिक समाजले सञ्चालन गरेको बृहत् पोखरा सरसफाइ अभियानमा योगदान पुर्‍याए बापत जिल्ला प्रहरी कार्यालय कास्की, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरुलाई सम्मान गरिएको थियो । नेपाली सेनाको भगवती दल गण फूलबारी पोखराका सेनानी सञ्जय खत्री, नेपाल प्रहरीका गणपति जनार्दन जिसी र सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँलाई मुख्य न्यायाधीश आचार्यले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे ।

Advertisement

न्यायाधीश आचार्यले नागरिक समाजका तर्फबाट पाउने सम्मान जत्तिको वजन अरु सम्मानमा नहुने विचार प्रकट गरे ।


त्यस अवसरमा आचार्यले देश र समाजका लागि योगदान गर्न सकेमात्रै जीवन सार्थक हुने अभिव्यक्ति दिएका थिए । युवा हुनका लागि विचार र मनस्थिति पनि युवा हुनुपर्ने उनको भनाइ थियो ।

न्यायाधीश आचार्यले संवैधानिक परिषदमा ६ जना सदस्य हुने व्यवस्था हुँदा अप्ठेरो परिरहेको र बहुमतका आधारमा निर्णय गर्न सकिने गरी बिजोर संख्या राखिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नागरिक समाजका संस्थापक संयोजक रामबहादुर पौडेल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, समाजका पूर्वसंयोजक विष्णु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

नागरिक जागरण शीर्षकसमेत भएको कार्यक्रममा मुख्य न्यायाधीश आचार्यले नागरिकका कर्तव्यबारे बताएका थिए ।

तपाईको प्रतिक्रिया