चलचित्र पत्रकार संघको पात्रो

समाधान संवाददाता २०८० वैशाख १६ गते १४:४१

पोखरा ।
शुक्रबारबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको दाबी गरेका हुन् ।

‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ’, उनले भने । कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखे ।

फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाइ उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरोन्नतिमा सुधार हुँदै जाने उनले बताए ।

Advertisement

चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौंभन्दा बाहिर पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनीय रहेको उनी बताउँछिन् ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्रसम्बन्धी गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनीय काम गर्दै आएको बताए ।

Advertisement

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व आइसकेपछि क्रियाशीलता बढ्दै गएको जनाए । चलचित्र पत्रकार संघ कास्की अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, संघका उपाध्यक्ष अर्पण तिवारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया