सुकबहादुर चेपाङले पाए ७२ वर्षमा नागरिकता

समाधान संवाददाता २०८० वैशाख १७ गते १०:११

गोरखा ।
जिल्ला प्रशासन कार्यालय गोरखाले ७२ वर्षका एक नेपालीलाई शुक्रबार नागरिकताको प्रमाणपत्र दिएको छ । गोरखाको गण्डकी गाउँपालिका १ मकैसिंका सुकबहादुर चेपाङलाई जिल्ला प्रशासनले ७२ वर्षको उमेरमा बल्ल नागरिकता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालका अनुसार विपन्न वर्षका सुकबहादुरले लामो समय अरुको घरमा काम गरी गुजरा चलाउँदै आएका थिए । उनको नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख छ । जारी मिति शुक्रबारकै हुने भयो ।

वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने कागजात जुटाउन नसक्दा तेस्रो प्रयासमा शुक्रबारमात्र उनले नागरिकता पाएका हुन् । उनलाई नागरिकता दिलाउन भतिजा रामबहादुर चेपाङले सनाखत गरेका छन् ।

Advertisement

परिवार र घरबारबिहीन सुकबहादुरलाई अब आफूले पालनपोषण गर्ने भतिजा रामबहादुरले बताए । ‘दुई छाक भातको भरमा चितवनमा वर्षैदेखि बस्दै आउनुभयो । अरुको घरमा काम गरेर बस्यो, अहिले बुढेसकालमा न ज्यान छ, न धन छ,’ रामबहादुरले भने, ‘अब म पाल्छु ।’

जीवनभर बिना ज्याला काम गरेका सुकबहादुरले तेस्रो प्रयासमा शुक्रबार नागरिकता पाएका छन्

Advertisement


लामो समय चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरी जीव चलाएका सुकबहादुर अहिले सहाराको खोजी गर्दै गोरखा जन्मगाउँ आइपुगेका हुन् । वडाध्यक्षको रोहबरमा उनलाई भत्ता पनि उपलब्ध गराउन पहल थालिएको छ । वडा सदस्य कमानसिं प्रजाले भने, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि नहुनुहुँदो रैछ । वडाको रोहबरमा नागरिकता बनाउने र भत्ताका सबै प्रक्रिया पूरा भएको छ ।’

यसअघि उनको तीन पुस्ते नाता पुष्टि भएको थिएन । वडाको वडाको सर्जमिन, प्रहरीको मुचुल्का, बुवा आमाको मृत्यु भएको पुष्टि हुने कागजात तयार गरेपछि नागरिकता उपलब्ध गराइएको हो । वडा सदस्य प्रजाले भने, ‘४/५ दिन दुःख पाइयो । सिडियो र सहायक सिडिओले धेरै सहयोग गर्नुभयो, हामीले पनि सबै यथार्थ कुरा भनिदियौं । म पनि साक्षी बसें अनि नागरिकता बन्यो ।’

एउटा विपन्न वर्गको मान्छेलाई वर्षौंसम्म बिना ज्याला काम लगाउनेलाई खोजी गरी न्यूनतम भए पनि ज्याला दिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी भुषालले प्रतिवद्धता गरे । यसका लागि चितवन प्रशासनसँग समन्वय गर्ने उनको भनाइ छ । श्रमको ज्याला दिलाएर बैंकमा जम्मा गरिदिने उनले सुनाए ।

चेपाङ समुदायमा असाध्यै खाँचो परेपछि मात्रै सरकारी कागजात खोजी गर्ने चलन अझै रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना बताउँछन् । सुकबहादुर चेपाङले नागरिकता भएको भए २ वर्ष पहिलेदेखि नै वृद्धभत्ता पाउने थिए । ‘एउटा प्रक्रिया पूरा भएको छ, अब हामी भत्ताका लागि छिट्टै प्रक्रिया पूरा गर्छौं,’ अध्यक्ष तिमिल्सिना भन्छन् ।

तपाईको प्रतिक्रिया