ईन्द्रको कृति र एकलवाचन एकसाथ

पोखरा ।
यसपालिको मे १ अर्थात विश्व मजदूर दिवस कवि ईन्द्र राना ‘प्रतीक’का लागि विशेष बन्दै छ । सोमबार पोखराका मजदुर कवि प्रतीक काठमाडौंमा एकल कवितावाचन गर्दै छन् ।
थापागाउँको मण्डला थिएटरमा कन्सेप्ट नेपालले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा सुनाउँन प्रतीकले रोज्जाक कविता छानिसकेका छन् । त्यसका लागि उनी आइतबार काठमाडौं प्रस्थान गर्दै छन् । कार्यक्रममा उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्ण गरिनेछ ।
समारोहमा ५१ हजार रुपैयाँ नगदसहित उनलाई सम्मान गरिने कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिए । ‘उहाँको संघर्षपूर्ण जीवन प्रेरणादायी छ’, भादगाउँले भन्छन्, ‘गुजाराका लागि जीवनभर ज्याला, मजदूरी गर्दै आएका स्रष्टाको सम्मानमा कार्यक्रम गर्न लागेका हौं ।’
मजदूरी गरी जीविका गर्ने ईन्द्र ‘काठमाडौंमा भुइँमान्छेका कविता’ शीर्षकमा रोज्जा कविता सुनाउँदै छन् ।
बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’मा ३३ कविता छन् । उनका सिर्जनामा शोषित, पीडित, भुइँमान्छेका आवाज प्रतिविम्बित हुन्छन् ।
६० वर्षका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फोर्ने र प्रसाद बनाउने काम गर्छन् । विगतमा उनी कहिले सेती नदी किनारमा बालुवा चाल्ने त कहिले घर बनाउने र रंग रोगन गरेका थिए ।
पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नै घर छैन, जग्गा पनि छैन । उनी डेराको जीवन बाँचिरहेका छन् ।
प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन् ।
कन्सेप्ट नेपालले २०७५ फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन आयोजना गरेको थियो । संस्थाले पर्यटन साहित्य प्रवद्र्धन गर्न खप्तड काव्ययात्रा २०७५, फोक्सुन्डो काव्ययात्रा २०७६ र आँपस्वारा काव्ययात्रा–२०७९ आयोजना गरिसकेको छ । ती ठाउँको प्रवद्र्धन गर्न काव्ययात्रा कोशेढुंगा बनेको थियो ।
तपाईको प्रतिक्रिया