उपचुनावको समीक्षा र शिक्षा

डा सञ्जय कोइराला २०८० वैशाख १७ गते १२:१९

शान र प्रतिष्ठा दाउमा राखेर पूरा जोडबलका साथ गत वैशाख १० को उपचुनावमा पार्टीहरु लागेका थिए । रामचन्द्र पौडेल राष्ट्रपति, रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि र रवि लामिछाने विरुद्धको उजुरीमा सर्वोच्चको आदेश बमोजिम क्षेत्र खालि भएका क्रमशः तनहुँ–१, बारा २ र चितवन २ को उपचुनावले संसदीय अंकगणितका हिसाबमा कुनै तात्विक असर नपर्ने पक्का थिए ।

त्यसो भएता पनि प्रतिष्ठाको बिषय बनाएर हरेक दल पूरा शक्ति लगाएर मैदानमा उत्रेका थिए । अर्थविद डा स्वर्णिम वाग्लेले कांग्रेसबाट विद्रोह गरी तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्दै गर्दा कांग्रेसका लागि जीत ठूलो प्रतिष्ठाको विषय बन्न पुगेको थियो । रवि लामिछानेलाइ ५ महिना अघिको आफ्नो जितलाई दोहोर्‍याउन नदिनका लागि विभिन्न खाले मिडियाबाजी भइरहेका थिए । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भने यस पटक संसद छिर्ने आफैंले बनाएको यो दोहोरो मौका कसै गरी पनि गुमाउन नहुने दाउमा नागरिक उन्मुक्ति पार्टी सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय छवि बनाएका रमेश खरेलको पनि ठूलो चुनौती थियो ।

नतिजा एकदमै अपेक्षित नै आयो । पार्टीको आँखाले हेर्ने नेता कार्यकर्तालाई त यो नतिजा केही अनपेक्षित लाग्नु स्वाभाविक नै हो तर म जस्तो निष्पक्ष राष्ट्रप्रेमी हालसम्म कुनै पनि दल बिशेषको पक्ष पोषण गर्न नपर्ने नेपालीका लागि भने यो नतिजा एकदमै अपेक्षित थियो । एक हिसाबले भन्नु पर्दा यो राज्यका लागि पनि एकदमै सकारात्मक नतिजा हो भन्ने म मान्दछु । सबैका आ–आफ्नै दृष्टिकोण हुन्छन् तर पार्टीको नजरबाट आफ्नो दृष्टिकोण बनाउनेहरुका लागि पनि यो एउटा तीतो सत्य नै हो । यसले विश्लेषणका लागि अनगिन्ति कोण दिएको छ, जसलाई मैले मेरो नजरले भ्याएसम्म यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

Advertisement

पार्टीहरुको नजरबाट नतिजा तीतो भयो । यसले विश्लेषणका लागि अनगिन्ति कोण दिएको छ

तनहुँ १ को कुरा गर्दा अर्थविद स्वर्णिम वाग्लेले कांग्रेसबाट टिकट नपाएर पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुलाई पनि बिभिन्न नजरले हेरिएको थियो । उनलाई कांग्रेसीहरुले धैर्य नभएको, विद्रोही, पार्टीलाई घात गरेको जस्ता यावत लाञ्छना लगाए तर उनको क्षमताको विषयमा कसैले पनि औंला उठाउन सकेका थिएनन् । कारण उनी एक अन्तर्राष्ट्रियस्तरमा आफ्नो बेग्लै छवि बनाएका विद्वान् थिए ।

Advertisement

उनले कांग्रेसमै रहँदा पनि पार्टीका लागि अनेकन योगदान गरेका व्यक्तित्व थिए । उनले कांग्रेसमै बसेर आफ्नो पूर्ण क्षमता देखाउने अवसर नदेखेरै पार्टी बदलेका थिए । त्यो कदम ही पनि हो । घात अन्तर्घात पार्टीभित्र गर्न पाइन्छ, राज्यलाई गर्न पाइदैन । पुराना पार्टीहरुको बनोट र कार्यगत मानसिकता हेर्ने हो भने यहाँ राजनीतिको लागि मात्रै राजनीति गर्नेहरुको रजगज देखिन्छ । योग्य, सबल व्यक्तिहरु आफ्नो क्षमताको आधारमा मात्रै नेतृत्वदायी भूमिकामा पुग्न अवसरवादी राजनीतिको चक्रव्यूहबाट उम्कन पर्छ र त्यो असम्भव प्रायः नै देखिन्छ ।

स्वर्णिम वाग्लेको उम्मेदवारीका कारण पुराना दलले पनि थोरै सच्चिएको भान हुने गरी यो उपचुनावमा केही युवा नेताहरु उठाएका थिए । स्थानीय तहमा केही परिचित युवा नेतालाई टिकट दिएर चुनावमा होमिएर आफ्नो पूरै शक्ति लगाएका पुराना दलहरुले यति बेला कुनै पनि ठोस एजेन्डाहरु जनतालाई दिन सकेका थिएनन्। मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली, गलौज र रवि लामिछानेको व्यक्तिगत जीवनको टिप्पणीमा नै प्रायः प्रचार सिमित भएका थिए । यस्तो राजनीति अब नचल्ने, जनत जागरुक भएको सन्देश यो उपचुनावको नतिजाले दिएको छ ।

म ठूलो पार्टी हुँ, मेरो विरासत ठूलो छ भन्ने अहम बोक्ने पार्टीहरुले राजतन्त्र र माओवादीको वर्तमान हविगतमात्रै हेरे पनि पुग्थ्यो । टाढा सोच्न पनि पर्ने थिएन । कोही कसैको दास होइन । कोही र केही पनि यो संसारमा स्थिर छैन भन्ने सामान्य प्रकृतिको नियम पनि बुझ्न नखोज्ने अहम नेतृत्व गणलाई यसपालि जनताले ठूलो दनक दिएका छन् । कांग्रेसमा उदाउँदा युवा पुस्ता मानिएकाहरुको वैचारिक क्षमता पनि यसपालि जनताले नाप्ने मौका पाएका छन् । विगतमा कुनै पनि कुरामा जवाफदेही हुनु नपर्ने, जसरी पनि चुनाव जित्ने गरेकाहरुलाई अब त कामले मात्र टिक्न सकिन्छ नभए जनताले आफ्नो अधिकार बुझेका छन् भन्ने सामान्य नैतिक शिक्षा पनि ठूलो झट्काको रुपमा जनताले दिएका छन् ।

स्वर्णिम वाग्लेको जित तनहुँबासीले गर्व गर्नु पर्ने परिघटना हो । तनहुँबासीले अब हामी राजनीतिक रुपमा साक्षर छौँ र अब पार्टी होइन, योग्य व्यक्ति हेर्छौं भन्ने सन्देश दिएका छन् । जुन राज्यका लागि एउटा उदाहरण हुनु पर्छ । स्वर्णिम जस्ता छवि भएका व्यक्ति राज्यका हरेक कुनाबाट उदाउनु पर्छ र त्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै हुन्छ भनेर पनि बुझ्नु हुँदैन । कांग्रेसको गढ यसपालि भत्किएको छ, यसले स्वयम् कांग्रेसमै पनि सकारात्मक परिवर्तनका लागि मार्ग प्रशस्त हुनुपर्ने आवाज बुलन्द रुपमा उठ्नु पर्छ ।

चितवनको कुरा गर्दा रवि लामिछानेको जित लगभग सुनिश्चित नै थियो । ५ महिना अघिको चमत्कार नदोहोरिने कुनै पनि कारण बनिसकेको थिएन । गृह मन्त्रालयको मोह, नागरिकता र पासपोर्ट काण्ड, ढाकाकुमार श्रेष्ठको काण्डमा रवि र रास्वापाले जनतालाई देख्ने र बुझ्ने गरी चित्तबुझ्दो जवाफ दिइसकेको अवस्थामा यो नतिजा स्वयम कांग्रेस र एमालेले पनि अपेक्षा गरेकै हुन् । भ्रष्ट्राचारमा शून्य सहनशीलता भन्ने नारा बोक्ने तर भ्रष्टाचारका अनेकन काण्डमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई हालसम्म बचाएका पार्टीहरुको इतिहासमा ढाकाकुमारलाई अडियो काण्डकै आधारमा सांसद पदबाट निलम्बित गर्ने कदमले रवि र रास्वपाको छवि जनतासामु अलग्गै बनाइदिएको छ ।

आफूमा लागेका हरेक लान्छनाको सामाजिक सञ्जालमार्फत भए पनि जवाफ दिने रविको यो विजय देख्दा एकदमै छोटो समयमा पाएको ठूलो उपलब्धि देखिए पनि उनको वर्षौंदेखिको प्रयास कमैले मात्र बुझ्ने प्रयास गरेका छन् । उनीबाट जनताले धेरै नै आशा गरेका छन्, नतिजा हेर्न त समयलाई कुर्नै पर्ने हुन्छ ।

बारा २ को कुरा गर्दा धेरैले मधेसी जनतालाइ नकारात्मक रुपमा टिप्पणी गरेको मैले पाएको छु । मधेसी जनतामा अझै पनि चेतनाको कमी रहेको, अझै पनि पैसामा बिक्ने लगायत यावत सतही विश्लेषण सामाजिक सञ्जालमा भेटिएका छन् । यो कुरा सत्य होइन । मंसिर ४ को चुनावमा सिके राउतसँग लगभग १८ हजार मतान्तरले हारेका उपेन्द्र यादवलाई यसपालि बारा २ मा पनि जनमत पार्टीले कडा टक्कर दिएकै हो । गत मसिर ४ मा सप्तरी २ का जनताले परिवर्तनको आसमा नै राउतलाई जिताएका थिए । मधेसी जनता पनि जागरुक भएका छन् र परिवर्तनको संवाहक बन्ने सन्देश नयाँ पार्टीहरुलाई जिताएर गत चुनावमा दिएकै हुन् ।

यसपालिको उपचुनावमा पुनः उपेन्द्र यादवलाई निर्वाचित गर्नु पनि अर्थपूर्ण छ । उपेन्द्र यादव ती व्यक्ति हुन् जसले मधेस आन्दोलनको नेतृत्व गरेर देशमा संघीयता आएको थियो । संघीयताका लागि उनको योगदान मधेसी जनताले बिर्सन सकेका छैनन् । राष्ट्रिय छवि भएका रमेश खरेललाई मधेसी जनताले नरुचाएको कारण मधेसको आफ्नो स्वाधीनता हो । मधेसी जनता आफ्नै क्षेत्रका उम्मेद्वारमा विश्वास राख्छन् र अझै पनि संघीयताका संवाहक उपेन्द्र यादवलाइ एक पटक सच्चिने मौका दिने निर्णयमा पुगेका हुन् । यादवले यसको कसरी सदुपयोग गर्छन् भन्नेमा उनको भविष्यको राजनीतिक यात्रा निर्भर रहने संकेत पनि जनताले दिएका हुन् ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया