साहित्य सन्ध्यालाई हेमराज पुरस्कार

समाधान संवाददाता २०८० वैशाख १७ गते १२:५३

पोखरा ।
हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत १ लाख राशिको सो पुरस्कार हस्तान्तरण गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती र प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

गत वैशाखको पहिलो साता बसेको प्रतिष्ठानको बैठकले यस वर्ष सो पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको थियो ।

Advertisement

सोहीअनुसार शनिबार साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।

२०३९ सालमा स्थापना भएको साहित्य सन्ध्याले हालसम्म ४ सय ३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको छ । युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि सो पुस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष पहारीले बताइन् । उनले यो पुरस्कार अब हरेक वर्ष प्रदान गर्ने घोषणासमेत गरिन् ।

Advertisement

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकार लक्ष्मी निरौला, युद्धप्रसाद मिश्र, प्रतिष्ठानका अध्यक्ष फणिन्द्र निरौला र इन्दु अंशुले प्रतिष्ठानको विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा लोचन भट्टराईले हेमराज पहारीको गीत सुनाइन् ।

साहित्यकार फणीन्द्रराज निरौला संयोजक, शान्ता मानवी र लक्ष्मी निरौला सदस्य रहेको प्रतिभा छनोट समितिले सन्ध्यालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । साहित्यकार एवं समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले १ लाख राशिको यो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अली मियाँ तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन् ।

साहित्यकार पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलार्धको एक फन्को’ नियात्रा र ‘हेमराज पहारीका गीतहरु’ गीत सञ्चयन प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया