उपन्यासमा आए भैरव अर्याल

समाधान संवाददाता २०८० वैशाख १७ गते १७:५८

काठमाडौं ।
कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ । कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए ।

भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेख्नुभएका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ । भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थानसम्म पुग्न सहयोग मिलेको सुनाए ।

Advertisement

भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ । भैरव अर्यालसँगको पहिलो भेटबाटै एक अर्काप्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे ।

कवि ज्योति जंगलले आफूले प्रत्यक्ष देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई नियाल्दा सकारात्मक धारणा पाएको सुनाइन् । पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलीमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै नीँसँग प्रभावित भई नयाँ कुरा सिक्ने अवसर पाएको जनाए ।

Advertisement

पुस्तकमा भैरव अर्यालको जीवनीका ७० घटना प्रस्तुत गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको ठूलो भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया