गोविन्द बने सर्वाेत्कृष्ट सारंगी वादक

समाधान संवाददाता २०८० वैशाख १८ गते ११:१५

पोखरा ।
नेपाली मौलिक लोक बाजा सांरगीको संरक्षण र जीवन्त राख्न झलकमान गन्धर्व राष्ट्रिय सारंगी वादन प्रतियोगिता २०८० गरिएको छ । नेपाल गन्धन्र्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारंगी पाठशालाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधि पोखरा २५ हेमजाका गोविन्द गन्धर्वले जितेका छन् ।

प्रतियोगितामा बागलुङका राजेश गन्धर्व द्वितीय, पोखरा १६ बाटुलेचौरमा विमल गायक तृतीय र गोरखाका सुमन गान्धारीले सान्वना पुरस्कार पाएको नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले जानकारी दिए । प्रतियोगितामा तनहँुकी अरुणा गन्धर्वले प्रोत्साहन पुरस्कार हात पारेकी छन् ।

झलकमान गन्धर्वको ८८ औं जन्मजयन्तीको सन्दर्भमा प्रतियोगिताको अडिसन राउन्डमा देशभरीका ३५ जनाले भाग लिएका थिए । पोखरा सभागृहमा उत्कृष्ट १० बीच फाइनल प्रतिस्पर्धा भएको केन्द्रका अध्यक्ष गायकले बताए ।

Advertisement

उनले प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय, सान्त्वना तथा प्रोत्साहन पुरस्कार क्रमशः ३५, २५, १५हजार, ७ हजार ५ सय र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए । उनले टाढा टाढाबाट आएका प्रतियोगीलाई आउने जाने तथा खाने बस्नेको व्यवस्था गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा जगमान गुरुङले विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रतियोगिताको निर्णायकमा धर्म गन्धर्व, दिलीप गायक, सम्मरबहादुर गायक र कृष्णबहादुर गन्धर्व थिए । कार्यक्रममा अग्रज गायक खीमबहादुर गायक, झुमा गायक, लालबहादुर गन्धर्व, झलकमान गन्धर्वकी श्रीमती मंगलमाया गन्धर्व, धर्मसिंह गन्धर्व, नारायण गन्धर्व र श्रीकला गायकलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको सुनील गायकले जानकारी दिए ।

Advertisement

समारोहमा लक्ष्य व्याब्डको प्रस्तुतिका अलवा हेमजाको रत्यौली, बडहरे गन्धर्व समूहले तरबार नाँच प्रर्दशन गरेका थिए ।

कार्यक्रममा अप्रतियोगीको रुपमा व्रत गन्धर्व, प्रकाश गन्धर्व, झलकमान गन्धर्वकी छोरी शोभा गन्धर्व, नाति रोशन र नातिनी जिया गन्धर्वले प्रस्तुति राखेका थिए । झलकमानका नाति दिनेशमान गन्धर्वले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए ।

केन्द्रका अध्यक्ष गायकका अनुसार प्रतियोगिताका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च लागेको छ । कार्यक्रमका लागि पोखरा महानगरपालिका सामाजिक महाशाखाले ४ लाख सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया