११५ औँ स्मृति दिवस

आधुनिक पोखराका जनक वीरसिंह

रवीन्द्र माकाजु २०८० वैशाख १८ गते १२:३५

मलाई आधुनिक पोखराका जनक को हुन् भनेर कर्सैले सोध्यो भने भन्न मन लाग्छ: मेजर वीरसिंह गुरुङ । शायद मेरो यो भनाइप्रति कति सहमत होलान् कति नहोलान् । पोखरालाई जीवन्त राख्न, महानगरपालिकामा रुपान्तरण गर्न थुप्रैका योगदान छँदैछन् तर पनि मेजर वीरसिंहले पोखरा माथि लगाएको गुणलाई भने कसैले अवमूल्यण गर्न हुँदैन ।

सन् १९४५ मा मेजर वीरसिंह भारतको गोरखपुरमा मेजर पदमा कार्यरत थिए । नेपाली सैनिक जो भारतीय सेनामा कार्यरत थिए, पेन्सन बुझ्नका लागि गोरखपुर पुग्नु पर्दथ्यो । त्यस बेला उनले भूपू सैनिकहरुले पेन्सन लिन जाँदाको पीडालाई नजिकैबाट देख्दा मनमा गाँठो पारेर सोचे– म कुनै न कुनै दिन नेपालमा नै पेन्सन बुझ्ने व्यवस्था गर्ने छु । यस्ता मानवीय पीडा कसरी सहनु ?

त्यस बेला नेपालमा यातायातको सुविधा थिएन । पैदल यात्रा गर्नुपर्दथ्यो । भूपू सैनिक जो उमेरले पाकेका हुन्थे, रोगी र अशक्त हुन्थे । कसै कसैलाई डोकोमा राखेर बोक्नु पर्दथ्यो । किनकी पेन्सन लिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने प्रचलन थियो । उनीहरु रेलको बाटोक्रसवे बाटो काट्न जान्दैनथे । कतिपय व्यक्ति लुटिन्थे । कोही हराउँथे । कोही रोग, व्याधिका कारण बाटोमा नै मर्दथे ।

Advertisement

मेजर वीरसिंहले बनाएको जगमा नै गण्डकी अस्पताल, अमरसिंह स्कुल लगायत यहाँसम्म आएका हुन्


सन् १९४५ मा उनी भारतीय सेनाबाट अवकाश पाएपछि उनी स्वदेशमा फर्किए । उनले पोखरालाई दुर्गम गाउँको रूपमा पाए । न बाटो घाटो छ न विद्यालय, न अस्पताल । न बजार त कुनै सुविधा, उनी दंग परे । उनी पोखराको विकासको परिकल्पना गर्दै थिए ।

Advertisement

सन् १९५५ मा भारतीय राजदूतवासका सैनिक सहचारी कर्णेल पिसी मोहनसँग उनको भेट भयो । मोहनले युद्धपश्चातको पुर्ननिर्माण कोषको माध्यमबाट पश्चिमाञ्चल क्षेत्रमा धेरै विकास निर्माणका कार्य गर्नुपरेकाले पश्चिमाञ्चल अफिसरका रूपमा काम गर्न आग्रह गरे । मेजर वीरसिंह साहेबका लागि के खोज्छस् कानो, आँखो भने जस्तै भयो ।

सर्वप्रथम उनले स्कुल र अस्पताल खोल्ने योजना बनाए । विद्यालयलाई जग्गा दान दिन देवराज घिमिरेलाई मनाए । २०१३ साल असोज २२ गते करिब २ सय रोपनी जग्गा प्राप्त गरेपछि स्वल्जर्सवोर्ड विद्यालय सुरु भयो २०१३ साल चैत्र १३ गते । त्यस्तै हाल पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान रहेको करिब १ सय ७० रोपनी जग्गा प्राप्त भएपछि स्वल्जर्सवोर्ड अस्पताल विधिवत स्थापना भयो चैत्र १३ गते नै ।

पोखरामा यातायातको सुविधा नभएकाले प्रायः सामान हवाईजहाजबाट ल्याउनुपर्दथ्यो । त्यस्तै उनले काहुँडाँडामा कालिका स्कुलको जग बसाले । त्यस्तै तत्कालीन गण्डकी अञ्चलाधीश नन्दबहादुर मल्लसँग सहकार्य गरी काँहु घरहरा निर्माण गरे । त्यस्तै आफ्ना जग्गाभूमि काहुँकोटमा आफ्ना बाबुआमाको स्मृतिमा दुर्गाभवानी मन्दिर स्थापना गरी कोट स्थापना गरे । उनले काँहुमा बेलापाती शैलीको घर बनाए । उनको सोचाइ थियो घर पहाडमा बनाउनुपर्छ, समथल भूमिका कृषि कार्य गरिनुपर्छ । यसका अवला मेजर साहेबको पहलमा कास्कीका ताङ्तिङ सिल्दुजुरे लगायतका स्थापना विद्यालय खोलिए ।

तत्कालीन स्वल्जर्सवोर्ड स्कुल अहिले अमरसिंह मावि बनेको छ भने स्वल्जर्सवोर्ड अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । जहाँ हजारौ बिरामीले स्वास्थ्यसेवा लिइरहेका छन् भने एमबिबिएसको पढाइ पनि हुने गरेको छ । यसरी स्वास्थ्य र शिक्षा क्षेत्रमा मेजर साहेबले पु¥याएको योगदान अतुलनीय छ । वन्दनीय छ ।

वि.सं. १९६५ साल बैशाख १८ गते जन्मिएका आधुनिक पोखराका जनक मेजर वीरसिंह गुरुङले २०२८ साल माघ ९ गते यस धर्तीबाट बिदा लिएता पनि उनले स्थापना गरेका विद्यालय, अस्पताल भइन्जेल उनी सबैका मन मस्तिष्कमा नमेटिने सम्झनामा बाचिरहने छन्, बाँचिरहने छन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया