चिनिया पर्यटन प्रवर्धन गर्न पोखरामा ड्रागन डुंगा दौड हुँदै

फेस्टिभलपछि करोडौं मूल्यका ८ थान डुंगाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने

समाधान संवाददाता २०८० वैशाख २२ गते १९:४४

पोखरा ।
आउँदो असारको ८ र ९ गते (जुन २३ र २४) पोखराको फेवातालमा ‘नेपाल–चीन मैत्री ड्रागन डुंगा दौड’ प्रतियोगिता हुनेछ ।

उक्त प्रतियोगिता आयोजना गर्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया दूतावासबीच समझदारी भएको छ ।

दक्षिण एसियामै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको हो ।

Advertisement


नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबीच दुई देशबीचको संस्कृति, जनस्तरको सम्बन्ध अभिवृद्धि र नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

फेस्टिभलपछि करोडौं मूल्यका ८ थान डुंगाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने समझदारी छ ।

Advertisement


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कार्यकारी सदस्य मदन आचार्यको उपस्थितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र चिनियाँ दूतावासबाट नियोगका उपप्रमुख वाङ जिनले हस्ताक्षर गरे ।


नेपाल पर्यटन बोर्डको दक्षिण एसियामा आयोजना हुन लागेको यो पहिलो ड्रागन बोट रेस फेस्टिभल हुने छ ।

प्रतियोगिताका लागि चीनबाट ८ वटा डुंगा ल्याइने भएको छ ।

प्रतियोगितामा चीन र नेपालका सबै प्रदेशहरुबाट सहभागी हुने र दौड अघि आवश्यक तालिम लिनेछन् ।


पोखराका मेयर धनराज आचार्यले यस्ता कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ आयाम थप्ने र पोखराको पर्यटनमा नयाँ उत्पादन थप्ने विश्वास व्यक्त गरेका छन् । हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गरिने बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले डुंगा दौड महोत्सवले पोखराको पर्यटनलाई थप दिगो बनाउन सहयोग पुग्ने विश्वास प्रकट गरे ।

उनले त्रिपक्षीय सहयोगका साथै अन्य पर्यटन सरोकारवालाको सहयोगले पोखरामा पर्यटक भित्र्याउन मद्दत पुग्ने पनि बताए ।


चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकका लागि लोकप्रिय गन्तव्य भएको सुनाए । ‘यो कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई थप प्रगाढ हुनेछ,’ उनले भने ।

उनले दक्षिण एसियामा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा फुड फेस्टिभल पनि आयोजना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया