सहरमा घाटु जोगाउँदै समाज घर

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख २५ गते ११:२४

अन्नपूर्ण ।
अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै छन् । गाउँको सब थोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने साथै लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, समाज घर ।

विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ–आफ्नो सहरमा समाज घर बनाएका छन् । यस्ता समाजघरमार्फत संस्कार, संस्कृति, भाषा जोगाउन योगदान पुगेको छ । हिजो बुद्ध पूर्णिमाका दिन पोखराका गुरुङ समाजघरमा घाटु नृत्य देखाइयो ।

पोखरा महानगरपालिका १४ काजीपोखरीस्थित पोंचोकों तमु परिवार पोखरामा पनि दिनभर घाटु नाच प्रस्तुत भयो ।

Advertisement

समाजघरमा घाटुसरी दिनभर व्यस्त भए । टाउकोमा लाया (घाटुका लागि धानको लाभाबाट बनाएको टोपी) र बिर्कोट (लायालाई अड्याउन बनाइएको कपडा) लगाएका बालिका निदाएकै आभाषमा गुरुबाको स्वरसँगै हाउभाउ मिलाएका देखिन्थे । यहाँ शुक्रबारदेखि सुरु भएको नाच ५ दिनसम्म चल्छ ।

लमजुङको घनपोखरा र उत्तरगंगा घर भएका गुरुङ समुदाय पोखरा घाटु नृत्य जोगाउन विसं २०६२ देखि नै तल्लीन छन् ।

Advertisement

गाउँबाट सहर आउँदा संस्कार नभुल्नेहरु अहिले नयाँ घाटुसरी र गुरुबा नपाउँदा संस्कृति नै हराउने हो कि भन्ने चिन्तामा
घाटुसरी र गुरुबा

श्रीपञ्चमीदेखि सुरु घाटु वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीका समयमा सक्ने (सेलाउने) पोंचोकों तमु परिवार पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

‘पोखरा बस्ने घनपोखरा र उत्तरगंगाका बासिन्दा २०६२ देखि नै खटिएका छौं,’ अध्यक्ष राजकुमारले भने । ‘अचेल अन्य समाजघरले पनि सुरु गर्नुभएको छ । समाजघरको माध्यमबाट पोखरामा घाटु देखाउने सम्भवतः हामी पहिलो हौँ ।’

नयाँ घाटुसरी छनोट गर्ने बेला रजस्वला नभएका, घाउचोट नलागेका र कपालसमेत नकाटेका बालिकालाई राखेर गीत गाउने प्रचलन छ । जुन बालिकालाई घाटुले ‘छोप्छ’, तीमध्ये २ जनालाई घाटुसरीका लागि छानेर श्रीपञ्चमीदेखि बुद्धपूर्णिमासम्म अभ्यास गराइने गरिन्छ ।

उमेरले ६२ वर्ष लागेकी बिनकुमारीले घाटु जोगाउन पोंचोकों तमु परिवारमा सुरुदेखि नै लागिपरेको जनाइन् । ‘हाम्रो संस्कृति हराएर जान्छ कि भन्ने साह्रै चिन्ता लाग्छ’, बिनकुमारीले भनिन् ।

निशा र शीतललाई घाटुसरी बनाउन निकै संघर्ष गर्नुपरेको बिनकुमारीले सुनाइन् । अहिलेका युवती नाच्न रुचि नगर्ने कारण घाटुसरी पाउनै समस्या रहेको उनी उल्लेख गर्छिन् । ‘घाटुरसीहरु पाउनै गाह्रो छ । अनि यिनीहरुलाई माग्न जाँदा बुहारी माग्न जाँदा जस्तै हो’, बिनकुमारी भन्छिन्, ‘नाच्ने जस्तो लागेपछि फलफूल र रक्सी लिएर तपाईंको छोरी हामीलाई घाटुसरी बनाउन दिनुस् भनेर माग्नुपर्छ अनि लौ ठीकै छ लैजानुस् भनेर दिएपछि ल्याउने हो ।’

बाह्रमासे, कुसुण्डा र सतीमध्ये यहाँ देखाइको बाह्रमासे घाटु हो । यसमा दुई बालिकामध्ये एकलाई राजा र एकलाई रानीको भेषमा सजाएर वनमा सिकार, राजारानीको विवाह, प्रेम, पुत्रलाभ, युद्धमा राजाको मृत्यु र रानी सती गएको प्रसंग गीतमार्फत प्रस्तुत गरिन्छ ।

नाच सुरु हुने अघिल्लो दिन राति सामूहिक दर खाएपछि उपवास बस्ने चलन रहेको घाटुका गुरुबा जीवराम गुरुङले बताए ।

गाउने–बजाउने, नाच्ने गुरु, सुसारे र घाटुसरी भोलिपल्ट दिनभर फलफूलमात्र खान्छन् । ‘घाटुमा ठूलो शक्ति हुन्छ, त्यसैले यसलाई हामी जुनसुकै बेला गाउने, बजाउने र नाच्ने गर्दैनौँ’, जीवराम भन्छन् । बाह्रमासे घाटु विशेषगरी ३ वर्षसम्म नाचिन्छ । नयाँ घाटुसरीहरु ३ वर्षसम्म नाचेर सेलाएपछि ती घाटुसरी अरू ठाउँमा नाच्न पाउने जीवरामले बताए ।

गाउने गुरुबाहरु पनि तयार गर्न समस्या छ । नयाँ पुस्ताहरुले घाटुमा वास्तै नगरेका कारण अबको पुस्ताले के गर्छ भन्ने गुरुङको चिन्ता छ । बाह्रमासे घाटुमा नाच्ने घाटुसरीले लगाउने बिर्कोट पनि पाउन गाह्रो रहेको जीवरामले सुनाए । ‘अहिले उनीहरुले लगाएको बिर्कोट पनि गुरुहरुले पञ्चासेतिरबाट खोजेर ल्याउनु भएको रहेछ’, जीवरामले भने, ‘जस्तो पायो उस्तै धागोको बनाएर हुँदैन । यो बनाउने छुट्टै तरिका छ । अब नयाँ घाटुसरी तयार गर्दा बिर्कोट कताबाट ल्याउने भन्ने चिन्ता छ ।’

घाटु नाच सुरु हुनुभन्दाअघि गुरुले पूजा गरेपछि राजा घाटुसरीलाई रातो र रानीलाई कालो बिर्कोट दिइन्छ । गुरुबाहरुले पूजा गरेर दिइने बिर्कोटमा विशेष शक्ति हुने जीवरालेले जानकारी दिए । विर्कोट लगाएपछि घाटुसरीलाई देवता चढ्ने विश्वास छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया