शरणार्थी काण्ड र राज्यको भविष्य

डा सञ्जय कोइराला २०८० वैशाख २७ गते १२:११

काण्डहरु नेपाल र नेपालीका लागि नौला होइनन् । कति काण्ड शक्तिका लागि भए त कति सम्पत्ति प्राप्तिका लागि भए ।

इतिहासदेखि वर्तमानसम्म आइपुग्दा देशले अनेकौं काण्ड देखेको छ, भोगेको छ, बाँचेको छ, साँचेको छ । लाउडा होस् या धमिजा, ओम्नी होस् या यति, एनसेल होस् या वाइड बडी । इतिहासमा काण्डहरु सतहमा आएका छन्, तर कुनै पनि काण्डको गहिराइमा आम नेपालीलाई पुग्न दिइएको अवस्था भने हालसम्म छैन ।

यस्तैमा अहिले रोचक बनेको भुटानी शरणार्थी काण्ड भने अलि पृथक समयावास्थामा सतहमा आएका कारण यसले देशको राजनीतिक भविष्य र समग्र प्रशासकीय प्रणालीमा पनि ठूलै उथलपुथल ल्याउने प्रबल सम्भावना भने देखिएको छ । यो पनि विगतमा जस्तै सेलाएर जाने धेरैको आकलन हुन सक्छ । देशमा सधैं यस्तै हुने हो, केही राम्रो हुन्न भन्ने नकारात्मक भावनामा डुब्नेहरु पनि कम छैनन् ।

Advertisement

यसले देशको राजनीतिक भविष्य र समग्र प्रशासकीय प्रणालीमा पनि ठूलै उथलपुथल ल्याउने प्रबल सम्भावना देखिएको छ

राज्य प्रतिको वितृष्णाले देश छोड्न जुनसुकै मूल्य पनि चुकाउन आतुर केही आम जनतालाई नै पीडित बनाइएको यो भुटानी शरणार्थी काण्ड देशको मार्ग परिवर्तनका लागि कोशेढुंगा साबित बन्ने परिस्थिति निर्माण भएको देख्ने म जस्ता सकारात्मक सोच भएकाहरु भने कम नै होलान् ।

Advertisement

जसरी यो काण्ड सतहमा आएको छ, विगतमा जस्तो हावामा बिलाएर जाने सम्भावना भने म कम नै देख्दैछु । त्यसो हुन दिनु पनि हुँदैन । यो आम जनताका लागि परीक्षाको घडी हो । समग्र प्रहरी प्रशासनको पनि परीक्षाको घडी हो । राज्य प्रतिको कर्तव्य पालना गर्ने सुवर्ण अवसर पनि हो । यसलाई निष्पक्ष रुपमा यदि प्रहरी प्रशासनले टुंगोमा पुर्याउन सकेमा यो देशको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण कडी हुनेछ ।

आखिर कसरी यस्तो सम्भावना छ त ? देश अहिले संक्रमणकालीन अवस्थामा गुज्रिरहको छ । जनतामा चरम निराशा छाएको छ, देशलाई सिंगापुर, स्विजरल्यान्ड बनाउने भाषण गर्ने नेता र पार्टीहरुको पछि लाग्दा लाग्दा जनता आजित भएर कुनै नयाँ पार्टी आएमा उसलाई नै विकल्पको रुपमा हेर्न बाध्य भएको अवस्था छ । सोही अवस्थाको फाइदा सँगसँगै मिडियाबाट परिवर्तनकारी आवाजका साथ उदाएका रवि लामिछानेको रास्वपाले पाएको अद्भूत मतले राज्यको मनोदशाको चित्रण गरेको छ ।

कांग्रेसको गढ भनिएको तनहुँ १ को नतिजाले सबैलाई झस्काएको छ । देशले अब परिवर्तन चाहेको छ, विकासको लय खोजेको छ, भ्रष्टाचारको अन्त्य खोजेको छ । रास्वपासँगै परिवर्तित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ताँ नयाँ उदाएका पार्टीहरुबाट निर्वाचित नयाँ र युवा सांसदका कारण विगतका संसद भन्दा अहिलेको संसद रोचक बनेको छ ।

जनताको नजर पहिलेका संसदमा जति हुने गथ्र्याे, त्यो भन्दा कयौं गुणा अहिले बढेको अवस्था छ । त्यसको एउटा कारण अहिलेको सामाजिक सन्जाल पनि हो । अहिलेको संसदमा प्रतिपक्षमा युवा शक्ति छ । जनताहरु स्वयं नै पनि सशक्त प्रतिपक्षको भूमिकामा देखिन थालेका छन् ।

विगतमा काले काले मिलेर खाऊँ भाले भन्ने भावनाले प्रेरित भएर चलेका पार्टीहरुबीच तै चूप मै चूपको अवस्था भएका कारण जस्तासुकै काण्ड पनि यसै सेलाएका थिए । एकले अर्कोलाई औंला ठड्याउँदा चार औंला आफूतिर पनि तेर्सिने डरले मिलेर राज्यको ढुकुटी दोहन गर्ने बानी परेका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै ठोस सिमा थिएन । जहिले पनि जो सँग पनि मिलेर चलेका हुनाले सबै संगठित जस्तै नै थिए भन्दा फरक नपर्ला ।

अहिले अवस्था फेरिएको छ । संसदमा जनताको रुचि बढेको छ र प्रतिपक्षको भूमिकामा आएको नव परिवर्तनको लहरले स्वयम् सत्ता पक्षमा पनि भित्रभित्रै परिवर्तनको आवाज उठिरहेको छ । पुरातनवादी राजनीतिबाट आजित भएर ठूला भनाउँदा पुराना दलभित्रै पनि नव परिवर्तनकारी आवाज बुलन्द रुपमा उठ्न खोजेको देखिन्छ । गगन र विश्वप्रकाशले कांग्रेसभित्रै पनि हलचल ल्याउन चाहेको प्रष्ट छ ।

स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि आफ्नो तेस्रो कार्यकाललाई स्वर्णिम बनाउने अभिष्टले ओतप्रोत छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चाहना त्यस्तै देखिन्छ । अहिले जसरी प्रहरी प्रशासनले यो काण्डमा धमाधम उच्च तहका व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्ने र समाउने काम गरेको छ, यसले जनताको साथ सँगसँगै प्रहरी प्रशासनको मनोबल र स्वयम् संसद्को पनि गरिमा बढाएको अवस्था छ ।

विगतमा नेता या कार्यकर्ता भएपछि सहजै घर, घडेरी सम्पत्ति जोड्न सकिने र समाजमा इज्जत पाइने लोभले राजनीतिमा लागेका, राजनीति गरेकालाई यो काण्डले पक्कै पनि आतंकित बनाएको छ । आफ्नो र आफन्तको आर्थिक अवस्थामा ठूलो छलाङ मारेका नेताहरुको मनमा अब विस्तारै ढ्यांग्रो ठोक्न सुरु हुँदै छ ।

त्यसैका लागि राजनीति गर्न चाहने जमातहरुका लागि पनि यो काण्ड मार्ग परिवर्तनको संवाहक बन्न सक्छ । समय बलवान छ, कर्मको फल एक दिन अवश्य पाइन्छ भन्ने सामान्य ज्ञानको अभावमा वर्तमानमा मात्रै रमाउन चाहने उदारवादीहरुका लागि पनि यसले नैतिक शिक्षा दिन खोजिरहेको छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया