‘प्रेमबहादुर कामी होइनन्, विक’

प्रमिला कुँवर २०८० वैशाख ३१ गते १०:४१

प्रमिला कुँवर, पोखरा ।
भन्नेहरु त फ्याट्ट भनिदिन्छन्, आखिर नाममा के नै छ र ? तर त्यही नाम अर्थात थरसहितको पूरा नामले नै प्रेमबहादुर विकलाई दिनु दुख दियो । बागलुङको साविक छिस्ती गाविसमा २०२५ सालमा जन्मिएका विकले २०४८ सालमा नागरिकता बनाएका थिए । बुबा लाले कामीसँग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका उनले त्यति बेलै थर विक राख्न अनुरोध गरेका हुन् । तर नागरिकता बनाइदिने अधिकृतले मानेनन् । बाबुको नागरिकतामा जुन थर छ त्यही थर लेख्नुपर्ने संविधानमा उल्लेख छ भन्दै कामी थर राखेर नागरिकताको प्रमाणपत्र थमाइदिए ।

प्रेमबहादुरले लामो र धेरै संर्घषपछि गत मंगलबार थर सच्चाइएको नागरिकताको प्रतिलिपि पाएका छन् । नागरिकतामा प्रेमबहादुर कामी उल्लेख गरिएकोमा जिल्ला प्रशासन कार्यालय बागलुङबाट उनले प्रेमबहादुर विकको नामबाट नागरिकताको प्रतिलिपि पाएका हुन् । प्रशासकीय अधिकृत दिनेश शर्माले विकलाई संशोधित नागरिकता प्रदान गरे ।

विकले सजिलै थर सच्चाउन पाएका भने होइनन् । गत वर्षको जेठमा थर परिवर्तनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेका थिए । ‘कामी अपमानजनक थर होइन भन्दै अधिकृतले थर सच्च्याइदिन मानेनन्,’ उनले गुनासो पोखे ।

Advertisement

ज्याला मजदुरी गर्दै जीवन धान्ने प्रेमबहादुरले नागरिकतामा थर सच्च्याउन प्रशासन धाउँदा–धाउँदा १ लाख रुपैयाँ खर्च भयो

‘जिल्ला प्रमुख अधिकारीले विश्वकर्मा थर र कामी एउटै थर हो, तपाईंले एउटा थर लगिसक्नु भएको छ अब थर परिवर्तन गर्न मिल्दैन भनेर फर्काउनुभयो,’ प्रेमले भने, ‘जनप्रतिनिधि, सम्बन्धित व्यक्तिलाई थर सच्चाइदिन आग्रह गरे तर कसैबाट सहयोग भएन तर नपाउँदासम्म प्रयास गरिरहनुपर्छ भनेर निरन्तर लडिरहेँ ।’

Advertisement

प्रशासनका कर्मचारीले भोलिभोलि भन्दै उनलाई ४५ दिन झुलाएका थिए । गृहबाट निर्णय नआएसम्म हामीले केही गर्न मिल्दैन भन्ने जवाफ आउँथ्यो । ४५ दिनसम्म कार्यालय धाउँदा पनि उनको नागरिकता संशोधित भएन । सामान्य ज्याला मजदुरी गर्दै आएका प्रेमबहादुरले नागरिकता संशोधित हुने आसमा सदरमुकाममा दिनको हजार/पन्ध्र सय खर्च गरेर बसिरहे । खर्च धान्ने अवस्था नभएपछि उनी नागरिकता बिना घर फर्किए ।

‘थर सच्चाइएको नागरिकता पाए त ५०/६० हजार के हो र ? तर त्यत्रो दिन बित्दा पनि नागरिकता बनेन,’ प्रेमले भने, ‘समय र पैसामात्र सकियो, कति दिन त चाउचाउ र पानि मात्र खाएर बसें ।’

गत वैशाख ३ गते आवश्यक कागजात बोकेर प्रेमबहादुर फेरि सिडिओ कार्यालय पुगे । राष्ट्रिय दलित आयोगले कानुनमा परिवर्तन गर्न पाउने प्रावधान छ त्यस अनुसार थर परिवर्तन गरिदिनुस् भन्दा पनि अधिकृतले सुनेको नसुनेको गरे । धेरै प्रयासपछि प्रशासन बाध्य भयो गृह मन्त्रालयमा निवेदन पेश गर्न । गृह मन्त्रालयको आदेशपछि उनलाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको हो । यसअघि अपमानजनक नाम भएकाहरुले नागरिकता सच्च्याउन पाउने परिपत्र गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई गरेको थियो ।

‘मैले सजिलै नागरिकता पाएका होइन, दोस्रोपटक पनि २४ दिन कार्यालय धाएर बल्ल पाएको हो, थर सच्याउँदा समय र पैसा त कति सकिए, १ लाखभन्दा बढी खर्च भयो,’ उनले भने, ‘हीनताबोध भएर त होइन परिवर्तन गर्न चाहेको, तर प्रक्रिया सुरु गरेपछि हीनताबोधमा पुग्ने स्थिति सिर्जना भएको थियो ।’

नागरिकतामा थर वा नाम परिवर्तन गर्ने प्रक्रिया निकै झन्झटिलो रहेको उनले सुनाए । दलित मात्र होइन गैरदलितले पनि सजह र सरल तरिकाले नाम वा थर परिवर्तन गर्न सक्ने वातावरण नरहेको उनको भनाइ थियो । अब श्रीमती र छोराको पनि नागरिकतामा थर सच्च्याउन प्रक्रिया सुरु गर्ने उनले बताए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया