१५ औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता

सञ्जय रानाभाट २०८० वैशाख ३१ गते ११:२२

१ सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
२ सुशीला सिंखडा, सामाजिक विकास मन्त्री
३ सरस्वती अर्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
४ महेन्द्रध्वज जिसी, कृषि तथा भूमि व्यवस्था मन्त्री
५ रेशमबहादुर जुग्जाली, भौतिक पूर्वाधार विकास मन्त्री
६ जीतप्रकाश आले, आर्थिक मामिला मन्त्री
७ दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन र वन मन्त्री


सञ्जय रानाभाट
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । पाण्डेले मुख्यमन्त्री नियुक्त भएको १५ औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार थप ४ मन्त्री नियुक्त गरेका हुन् । नवलपुर १(१) का कांग्रेस सांस्द महेन्द्रध्वज जिसी, बागलुङ १ (१)का दीपेन्द्रबहादुर थापा, तनहुँ २(२)का जीतप्रकाश आले र म्याग्दी २ का रेशमबहादुर जुग्जालीमगर मन्त्री बनेका हुन् । उनीहरुले शुक्रबारै पद तथा गोपनियताको सपथ लिएका हुन् । जुग्जाली माओवादी सांसद हुन्, अरु सबै कांग्रेसबाट प्रत्यक्ष निर्वाचित हुन् ।


जुग्जाली तत्कालीन खगराज अधिकारी नेतृत्वको सरकारमा पनि सहभागी थिए । अधिकारी नेतृत्वको सरकारमा जुग्जाली उद्योग पर्यटन वन तथा वातावरण मन्त्री थिए । शुक्रबार मुख्यमन्त्री पाण्डेले जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री पाण्डेले यसअघिका विनाविभागीय मन्त्रीसहित सबै जना मन्त्रीको जिम्मेवारी तोकेका छन् ।
यसअघि मुख्यमन्त्री वैशाख १५ गते कांग्रेसबाट सरस्वती अर्याल र सुशीला सिंखडालाई नियुक्त गरेका थिए । यससँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट ३, माओवादीबाट १ जना मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement


माओवादीबाट विना विभागीय मन्त्री सुशीला सिंखडालाई दोस्रो वरीयतासहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ । कांग्रेसबाट विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीलाई तेस्रो वरीयतासँगै ऊर्जा जलस्रोतको मन्त्रालयको जिम्मेवारी तोकिएको हो । यसपछि क्रमशः महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, जीतप्रकाश आलेमगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो । शुक्रबार नियुक्त भएका ४ मन्त्रीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।


मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रालयहरुको कार्यक्षेत्र हेरफेर गरेसँगै पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि खगराज अधिकारी नेतृत्वको सरकारले १२ मन्त्रालयलाई फुटाएर ७ बनाएको थियो । अधिकारीका पूर्ववर्ती कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीका पालामा १२ मन्त्रालय थिए ।

Advertisement


अधिकारी सरकारले मन्त्रालय घटाउँदा आफू अनुकुल मन्त्रालयको कार्यक्षेत्र मिलान गरेकाले त्यो न्यायोचित नभएको भन्दै माओवादीले पुनः मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्नुपर्ने अडान राखेको थियो । मुख्यमन्त्री पाण्डे उक्त कुरामा सहमति भएपछि बिहीबार नै मन्त्रालय कार्यक्षेत्र हेरफेर भयो । बिहीबार नै राजपत्रमा प्रकाशन भयो ।


मन्त्रिपरिषद् निर्णय अनुसार कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभियो । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामजिक विकास तथा स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखियो । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय बनाइएको छ ।


वैशाख १४ गते मुख्यमन्त्री पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १ सय १६८ को उपधारा २ अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । चैत १० गते माओवादी एमालेका खगराज अधिकारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । जसमा उनी विफल भए । र, उनी नेतृत्वको सरका ढल्यो । अधिकारीको पक्षमा २४ सांसद मात्र थिए । विपक्षमा ३५ सांसदले मत हालेका थिए । वैशाख १४ गते पाण्डे नेतृत्वको सरकार बनेको थियो । पाण्डेले वैशाख १५ गते सपथ लिएर मुख्यमन्त्रीको बागडोर समालेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया