पर्यटक पर्खाइमा थासाङको मनमोहक ‘टिटी ताल’

समाधान संवाददाता २०८० वैशाख ३१ गते १२:२२

जोमसोम ।
मुस्ताङको थासाङ थासाङ गाउँपालिकामा तीन वटा तालतलैया छन् । ति हुन्, टिटी ताल,भुतर्छो ताल र सेकुङ ताल । सेकुङ र भुतर्छो ताल पालिकाको वडा—२ र टिटी ताल थासाङको वडा—५ अन्तर्गत पर्छ ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको पूर्वतर्फ समुन्द्री सतहदेखि २६ सय ७९ मिटर अग्लो उचाईमा अवस्थित छ । जैविक विविधतासंगै मनोरम प्राकृतिक सौन्दर्यताले भरिएको टिटी ताल उचित संरक्षणको अभाव र आवश्यक प्रचार/प्रसार हुन नसक्दा सदिंयौदेखि ओझेलमा परेको हो ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसा हुँदै मुस्ताङ प्रवेश गरेका कतियप पर्यटक टिटी तालबारे अनविज्ञ हुन्छन् । बेनी जोमसोम सडकको छाक्ताङदेखि कालिगण्डकी नदी पारी ३ किलोमिटर पैदल यात्रा गरे टिटी ताल पुग्न सकिन्छ भने थासाङ—३को लेते—छयो हुँदै पनि टिटी तालको गन्तब्य तय गर्न सकिन्छ ।

Advertisement

संघीयता अघि यो तालसम्म पुग्न मोटरबाटोको सहज पहुँच थिएन ।तर,संघीयता पछि भने उपभोक्ता समितिमा मार्फत लेते,छयो,कुञ्जो हुँदै टिटी ताल सम्म र टिटी तालदेखि सिर्खुङ र धम्पुसम्म कच्ची सडक विस्तार भईसकेको छ ।यद्यपी कच्ची सडक बनेपनि यहाँसम्म पुग्न मोटरेबल पुल नहुँदा यातायातका सवारी साधन लान सकिदैन ।

कालिगण्डकी पारी रहेको छयो,कुञ्जो,टिटी जोड्ने मोटरेबल पुल निर्माणधिन अवस्थामा छ । यहाँ गण्डकी प्रदेशले पुल निर्माण थालेपनि विविध कारणले पुल निर्माणमा ढिलाई भईरहेको छ । यसैगरी प्रदेश सरकारकै योजनामा रहेको लेते—धम्पु पुल पनि निर्माणधिन अवस्थामा छ ।

Advertisement

थासाङको लेते—छयो,कुञ्जो,ताक्लुङ,टिटी,सिर्खुम जोड्ने कच्ची सडक स्तरोन्नति तथा कालोपत्रे सडकको काम समेत भईरहेको छ । यहाँ संघीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक अन्तर्गत सडक विस्तारको काम भईरहेको छ । सडक तथा पुल समयमै सम्पन्न नहुँदा टिटी तालसम्मको सहज पहुँच हुन नसकेको हो । थासाङको दुई स्थानमा पुल बनेमा राष्ट्रिय राजमार्गबाट कुञ्जो टिटी हुँदै रिङरोडको यात्रा तय गर्दै पुन राष्ट्रिय राजमार्गमा जोडिने छ ।

टिटी गाउँमा करिब १५–२० घरधुरी छन्, जहाँ ३ घरधुरी थकाली समुदायको बसोबास छ भने अन्य गैर थकालीको वस्ती छ ।

यहा पर्यटक लक्षित ३ वटा होटल मात्र छन् । तालको चारैतिर ठूला–ठूला सल्ला र धुपीका रुख छन् । जैविक सम्पदाले भरिएको टिटी तालमा १ सय ८६ प्रजाती चराको बासस्थान छन् भने ३ प्रजातीका हास देख्न पाईने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले उल्लेख गरेको छ ।

यहाँ खर्कमा रहेका याकचौरीलाई पशुपालक किसानले पानी खुवाउन लैजाने गर्छन् । यो ताल संरक्षणका लागि स्थानीय तह, एक्याप तथा अन्य सरोकारवाला निकायले बेलाबेलामा सरसफाईका कार्यक्रम गर्ने गरिएको छ । यहाँ एक्यापले फोहोर संकलन गर्ने डस्मिनको व्यवस्था गरेको छ ।

एक्यापका कार्यालय प्रमुख अशोक सुवेदीले टिटी ताललाई सिमसार तालको रुपमा सूचिकृत गर्न पहल गरिनुपर्ने जोड दिए ।

उनले ३ महिनाभन्दा बढी निरन्तर पानी रहने क्षेत्रलाई सिमसार भनिने र टिटी तालमा पानीको सिंञ्चित श्रोत भएकाले जमिनले पानी रिचार्ज गर्दै आइरहेकाले पानीको श्रोतमा कमी नहुँने जानकारी दिए ।

समुन्द्री सतहको ६ मिटर गहिराई भएको भूगोलमा अवस्थित ताल सीमसार तालको रुपमा परिभाषित हुन कार्यालय प्रमुख सुवेदीको भनाई छ ।’ ‘यो क्षेत्र सिमसार क्षेत्र हो, तालको श्रोतनै जमिन हो,’ उनले भने, ’विश्वकै परिवेशमा सिमसार क्षेत्रले ठूलो योगदान दिन्छ , टिटी तालमा जमिन र तालको सम्बन्धको योगदान सिमसारले पुर्याएको छ ।’’

तालको सिमसार जैविक विविधताले सांस्कृतिक,प्राकृतिक,रसायनिक र जैविक फाइदा पुर्याउने र यसले खोला नाला र खेतीयोग्य जमिनलाई सिञ्चित गर्न योगदान दिएको एक्याप प्रमुख सुवेदीले बताए ।

टिटी ताल सिमसारले जैविक तथा चरा प्रजातीको बासस्थानका लागि सहयोग पुर्याएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले उल्लेख गरे । नेपालमा १० वटा ताललाई सिमसारक्षेत्रमा सूचिकृत भएको र टिटी ताललाई पनि सूचिकृत गर्न सके पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अध्ययन अनुसार १ सय ८६ प्रजातीका चरा टिटी ताल रहेको पुष्ठि गरेको थियो ।

तालभित्र कमन मलाटले बच्चा प्रजनन् गर्ने ठाउँ रहेको छ । तालमा चराको बासस्थानका लागि घाँसे गुड बस्ती छ । जहाँ विभिन्न जातका चरा बस्छन् भने तालमा चराहरुले आपसमा क्रिडा गर्छन् ।

थासाङ–५ को टिटी ताल पवित्र धार्मिक तालको रुपमा लिने गरिएको छ । यहाँ बर्सेनि श्रावण महिनाको पूर्णिमा तिथिमा स्थानीयले हंस बराहीको पुजाआजा गर्ने गरेको स्थानीय तेजेन्द्र गौचनले जानकारी दिए । यहा सन्तान नभएका जोडीले बर मागेमा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको गौचनले खुलाए ।

जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने गरेका चरा र हाँस मारेमा अनिष्ठ हुने उनको भनाई छ । उनले चारैतिर हिमाल र हरियाली दृष्यले सुसज्जित सुन्दर ताल हुँदाहुँदै पनि तालको स्तरोन्नति र विकास हुन सकेको छैन । मुस्ताङमा दैनिक सयौं पर्यटक आउँने गरेपनि यो तालको बारेमा पत्तो नहुँदा टिटी ताल नहेरी पर्यटक फर्किन्छन् । यद्यपी बैकल्पिक पदमार्ग हुँदै टिटी ताल पुगेका न्यून विदेशी पर्यटकले भने ताल अवलोकन गर्छन् ।

तपाईको प्रतिक्रिया