सेकेन्ड ह्यान्ड मोबाइल किनबेचमा सकस

समाधान संवाददाता २०८० वैशाख ३१ गते १४:३७

पोखरा ।
सेकेन्ड ह्यान्ड मोबाइलको व्यापार गर्ने कि नगर्ने, चोरी गर्ने जस्तै हामी व्यवसायीलाई पनि किन सजाय हुन्छ ? यसको समाधानको बाटो के छ ?

पोखराका इलेक्ट्रोनिक व्यवसायीले शनिबार यस्तै जिज्ञाशा राखे । मोबाइल व्यवसायी सेकेन्ड ह्यान्डको कारोबारमा बारम्बार उल्झनमा फसेपछि पोखरा इलेक्ट्रोनिक्स व्यावसायी संघ कास्कीले यसबारे प्रशिक्षण आयोजना गरेको हो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले वस्तुगत संघहरु बलिया हुँदा व्यापार, व्यवसाय स्वच्छ, पारदर्शी र उपभोक्तामैत्री बन्ने उल्लेख गरे । उनले प्रशिक्षण, सचेतना जस्ता विषयमा छाता संगठन भएकाले पोखरा उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको उनले जनाए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक मनोज पाण्डेले मोबाइल हराउने क्रम बढेको जनाउँदै सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार गर्दा जोखिम हुने सुनाए । उनले नियतबश किनबेच भए÷नभएको हेरी प्रहरीले अनुसन्धानअघि बढाउने उनले जानकारी दिए ।

जिल्ला अदालत कास्कीका शाखा अधिकृत नीलप्रसाद पनेरुले प्रविधि सँगसँगै चुनौति पनि आएको जनाए । उनले सेकेन्ड ह्यान्ड मोबाइलको व्यापार गर्दा सावधानी अपनाउन आग्रह गरे । उनले भने, ‘यो व्यापारमा फाइदा पनि छ, जोखिम पनि छ । सावधानी अपनाएर काम गर्नुस् ।’

Advertisement

पत्रकार फडिन्द्र अकिञ्चनले वैधानिक तवरले व्यापार व्यवसाय गर्न र सञ्चार जगतसँग सहकार्य गर्न आग्रह गरे । उनले भने, ‘उद्योगी, व्यापारी मिडियासँग गराउने होइन, सहकार्य जरुरी छ ।’

आयोजक संघका नारायण सुवेदीले मोबाइलको व्यापारमा अनेक उल्झन रहेको जनाए । उनले ती समस्या समाधानका लागि व्यवसायी र अरु क्षेत्रको समेत साथ चाहिने उल्लेख गरे । अध्यक्ष सुवेदीले भने, ‘मोबाइलको व्यापारमा अनेक समस्या छन् ।

नियमक निकाय, सञ्चार क्षेत्र र आम ग्राहक सचेत नभई यी समस्या समाधान गर्न सकिँदैन ।’

कार्यक्रममा आयोजक संघका सल्लाहकार जनपुकार मनुकर्मी, वरिष्ठ उपाध्यक्ष त्रिलोचन दाहाल, महासचिव चिन्तामणि खरेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया