लोमान्थाङमा तिजी सुरु

सुन्दरकुमार थकाली २०८० जेठ ३ गते १४:३३

जोमसोम ।
उपल्लो मुस्ताङी गुरुङ र बिष्ट समुदायको मुख्य पर्व तिजी मंगलबारदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय चहलपहल हुने वैशाख महिनामा उपल्लो मुस्ताङी समुदायले धार्मिक तथा सांस्कृतिक पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।

तिजी पर्वलाई भोट भाषामा ’तेम्बा चिरिङ’ अर्थात छोटकरीमा ’तेन्जी’ भन्ने गरिन्छ । तेन्जी उच्चारण गर्ने क्रममा परिवर्तन भई तिजी पर्वको रुपमा नामाकरण हुन पुगेको हो । तेम्बा भनेको त्रिलोक अर्थात (जल, थल र वायु) । यी सबैलाई राम्रो होस् भनेर तिजी पर्वमा (रिम्डु) पूजापाठ गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो बिष्ट बताए ।

१३ पुस्तामा मुस्ताङ राजाका ५ भाइमध्ये राजासहित ४ भाइको वंश विनास भएको र त्यसपछिको राजाको वंश नहराओस् र सधैं भरिलो रहोस्, शान्ति, सुख समृद्धि छाओस् भन्ने कामना गर्दै तिजी पर्व मनाउने थालिएको आम्ची बिष्टले उल्लेख गरे । उपल्लो मुस्ताङ मौलिक धार्मिक, सांस्कृतिक कलासंस्कृतिले प्रख्यात छ । १५ औं शताब्दीदेखि मनाइँदै आएको यो पर्वलाई उपल्लो मुस्ताङी गुरुङ र बिष्ट समुदायले निरन्तर पछ्याइरहेका छन् ।

Advertisement

तिजी हेर्न आएका नेपाली र विदेशीले लोमान्थाङका ३ दर्जन होटल खचाखच

लोमान्थाङमा तिजी यस वर्ष जेठ २ गतेखि ४ गतेसम्म ३ दिन मनाइनेछ । यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्रांगणमा लोमान्थाङ स्थित छोदे गुम्बाका लामा तथा भिक्षुले देवीदेवताको पूजापाठ र धार्मिक नृत्य प्रस्तुत गर्छन् । पर्वमा लामाहरुले देवीदेवता र राक्षसको मुकुट पहिरिएर नृत्य गर्छन् ।

Advertisement

यस प्रकारका धार्मिक नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ । पर्वको दोस्रो, तेस्रो तथा अन्तिम दिनमा सांस्कृतिक नृत्य प्रर्दशन गर्ने गरिन्छ । तिजीको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्ध धर्मको विभिन्न देवीदेवता र रिम्पोर्छेको विशाल थान्का प्रर्दशन गर्ने चलन छ । यो थान्का तिजी पर्वको दिनमा मात्र सार्वजनिक गर्ने गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक तिजी पर्व दोर्जी सुनुको पुनर्जन्म अर्थात बज्रकिलाको जीवक कथासँग सम्बन्धित छ । सुनुले पुनर्जन्म प्राप्त गरी राक्षसको भय र हिंसा अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतीकको रुपमा तिजी पर्व मनाउने चलन रहेको बताइन्छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ अहिले सजिसजाउ र सफा छ । स्थानीय युवा क्लब, आमा समूह, एक्याप, वडा , गुम्बा र जनप्रतिनिधिले लोमान्थाङमा सरसफाइ गरेका हुन् । यस वर्ष लोमान्थाङ तिजी पर्वलाई भव्य र सम्भ रुपमा सम्पन्न गर्न लोमान्थाङ गाउँपालिकाले समन्वय र सहकार्य गरेको छ ।

तिजी पर्वको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लागेको छ । कोरोना कहरले सुस्ताएको उपल्लो मुस्ताङ पर्यटन तिजी पर्वको अवसरमा चलाएमान भएको संरक्षण व्यवस्थापन समिति लोमान्थाङ अध्यक्ष टसी गुरुङले उल्लेख गरे । उनले तिजी पर्व अवलोकन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले लोमान्थाङका ३ दर्जन होटल भरिएको बताए ।

उनले विदेशी पर्यटकले तिजी पर्वलाई निकै चाख र अभिरुचीका साथ अवलोकन गर्ने र फोटो र भिडियो खिच्ने भएकाले तिजी पर्व अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण पर्वको रुपमा परिचित भएको सुनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया