भाडादर समायोजन

मुस्ताङमा लामो दुरीको यातायात भाडा घट्यो

जोमसोम—पोखरा यातायात २० प्रतिशत र जोमसोम—काठमान्डौं १३ प्रतिशत भाडा घट्यो

समाधान संवाददाता २०८० जेठ ३ गते १८:१२

जोमसोम—मुस्ताङ रुढमा चल्ने लामोदुरीको यातायातका सवारी साधनमा बिहिबारदेखि लागु हुने गरी नयाँ भाडादर समायोजन गरिएको छ । परिवर्तीत समायोजन गरिएको भाडादर कायम गर्न यातायात व्यवसायी तथा यातायात व्यवसायीका प्रतिनिधि सहमत भएका हुन् ।

मुस्ताङ रुढमा चल्ने लामो दुरीका सवारी साधनमा भाडादर महङ्गो भएको गुनासो सेवाग्राहीले उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले भाडादर घटाउन पहल गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा प्रजिअ अनुप केसीको रोहबरमा यातायात व्यवसायीहरु,सुरक्षा निकाय,जनप्रतिनिधि, राजनीतिक दलकका प्रतिनिधि र पत्रकार सम्मिलित अनौपचारिक बैठकले लामो दुरीको ¬(जोमसोम—पोखरा) यातायात सेवाका लागि २० प्रतिशत र लामोदुरीको (जोमसोम—काठमान्डौ) यातायात सेवाका लागि १३ दशमलव ०४ प्रतिशत भाडा घटाईएको हो । लामोदुरीको परिवर्तीत समायोजन गरिएको भाडादर अनुसार जोमसोम—पोखरा एक हजार २ सय र जोमसोम—काठमान्डौं यात्राका लागि २ हजार कायम गरिएको हो ।

यसअघि जोमसोम—पोखरा यात्राका लागि १५ सय भाडादर रहेकोमा ३ सय घटाएर १२ सय कायम गरिएको हो । यसैगरी जोमसोम—काठमान्डौ यात्राका लागि २ हजार ३ सय भाडादर रहेकोमा ३ सय रुपैया घटाएर २ हजार रुपैया कायम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । प्रजिअ केसीका अनुसार भौगोलिक विकटता र यातायात व्यवसायीहरुको समस्या र चुनौतीलाई मध्यनजर गर्दै नयाँ भाडादर समायोजन भएको उल्लेख गरे ।
भाडादर समायोजन गर्न बसेको बैठकले जोमसोम—काठमान्डौं र जोमसोम—पोखराबीचको स्थानमा यात्रा गर्ने यात्रुहरुको लागि घटाईएको भाडाको अनुपातमा सडक सहज र असहजको अवस्था मूल्याङ्कन गरी चाँडै भाडादर निर्धारण गरिने बताईएको छ ।

Advertisement


मुस्ताङ रुढमा चल्ने ४ वटा समितिका सवारी धनी र समितिका प्रतिनिधिहरुले आफ्ना समस्या प्रशासन समक्ष राखेका थिए ।उनीहरुले व्यक्तिगत रुपमा प्रयोग हुने रातो प्लेटको सवारी साधनले पटक÷पटक यात्रु ओसार÷पोसार गरेको र यसले लामोदुरीका यातायात व्यवसायीलाई मर्का परेको बताएका छन् । उनीहरुले मुस्ताङ भित्रिने रातो प्लेट र नगर बसलाई प्रशासन र प्रहरीले नियमन गर्न अनुरोध गरेका छन् । प्रशासनले लामोदुरीमा चल्ने बसको भाडादर समायोजन गरेसंगै केही दिन भित्रै जीप र ट्याक्सीहरुको पनि बैठक बसेर भाडादर समायोजन गर्ने जनाईएको छ ।


बैठकमा यात्रु बुकिङका लागि बिचौलियाले लिने कमिसनलाई पनि कडाईका साथ निगरानी गरिने प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । उनले सार्वजनिक सवारी हुन् या होईन र रुढ ईजाजत छ छैन त्यसको समेत अनुमगन गरिने बताए । मुस्ताङमा घोडाघोडी यातायात प्रा.लि.,म्याग्दी कोरला यातायात प्रा.लि.,धौलागिरी÷पृथ्वी यातायात प्रा.लि. र मुस्ताङ मुक्तिनाथ यातायात प्रा.लि.ले लामो दुरीको यातायात सेवा संञ्चालन गरेका छन् ।

Advertisement


मंगलबार यातायात व्यवस्था विभागले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० रुपैया घटेपछि नयाँ भाडादर समायोजन गरेको थियो । विभागले लामोदुरीको यातायातमा ३ दशमलव ६० प्रतिशत र पहाडी क्षेत्रमा संञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ प्रतिशत भाडा घटाएको थियो ।

विभागले तयारी क्षेत्रमा संञ्चालन हुने मालवाहक सवारी साधनले ४ दशमलव ६५ प्रतिशत भाडा घटाउन निर्देशन गरेको थियो ।

तपाईको प्रतिक्रिया