सबै विकृतिको जड सत्ता गठबन्धनः ज्ञवाली

समाधान संवाददाता २०८० जेठ ३ गते २०:५७

पोखरा ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका सबै विकृति र विंसगतिको जडसत्ता गठबन्धन भएको आरोप लगाएका छन् । उनले राज्यका निकायले प्रदान गर्ने सेवा प्रवाहको अवस्था निकै कमजोर भएको दाबी गरे ।


३० औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा एमाले कास्कीले बुधबार आयोजना गरेको प्रवचन कार्यक्रममा उनी बोल्दै थिए । दिवसमा पोखरा१६ बाटुलेचौर खोलाखेत स्थित मदन स्मृति पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पणसमेत गरिएको छ ।

Advertisement


‘राजनीतिक अस्थिरता कायमै छ । ३३ वर्षको अवधिमा २९ वटा सरकार बने । हरेक प्रधानमन्त्रीले औसत १४ महिना शासन चलाएको देखिन्छ,’ उनले भने, ‘राज्य सत्ता सञ्चालनको पुरानो वर्चश्वलाई तोड्न सकेका छैनांै । राजनीतिक प्रणाली फेरिएको भएता पनि बदलिदो परिस्थितिमा मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण हुन सकेको छैन ।’
नेता ज्ञवालीले सुशासनको नारा दिनेले समाजमा प्रभाव पारेको जनाए । सस्तो लोकप्रियताले समस्या उजागर गर्ने तथा प्रश्न गर्ने क्षमताको विकास गरे पनि समस्या समाधान गर्न नसक्ने उनको तर्क छ ।


उनी भन्छन्, ‘क्षणिक भेलबाट एमाले हल्लिदैन, सतिसाल उभिन्छ ।‘ नेता ज्ञवालीले पार्टी नेतृत्वको निष्ठाप्रति शंका गर्ने ठाउँ नभएको जनाए । नक्कली भुटानी शरणार्थी प्रकरण जुन औलामा विष लाग्यो त्यही औंला झर्ने नेता ज्ञवालीको टिप्पणी छ । ्
उनले एमाले भ्रष्टाचार र कुशासनको विरुद्ध लडेको पार्टी भएको उल्लेख गरे । उनले देश र जनताको पक्षमा राम्रो काम गरको भएता पनि एमालेको नेतृत्वमाथि चौतर्फी आक्रमण भएको गुनासो गरे । उनले एमालेका जनमुखी तथा प्रगतिशील कामका कारण सबै अत्तालिएको दाबी गरे ।

Advertisement


मिसन ग्रास रुट अभियानले पार्टीको आन्तरिक समस्या पहिचान गरेको र नेता तथा कार्यकर्ताको वैचारिक क्षमता कमजोर भएको निष्कर्ष निकालिउको उनले सुनाए । हरेक क्षेत्रमा पार्टीले बहुमत ल्याउन आवश्यक भएको जनाउँदै उनले एमालेको नेतृत्व विना सुखी नेपाली र समृद्ध नेपाल सम्भव नहुने तर्क गरे ।


उनले ३ तहको निर्वाचनमा ५१ प्रतिशत बहुमत ल्याएर मुलुकको कायापलट गर्ने सुनाए । उनले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तले प्रतिकूल अवस्थामा पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाएको विचार राखे । उनले मदन भण्डारीको नेतृत्वमा लोकप्रिय कम्युनिस्ट पार्टीको जग खडा बनेको बताए ।


पार्टीका स्थायी समिति सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’लाई सिद्धान्त, दृष्टिकोण र कार्यक्रमको रुपमा लागू गर्न पार्टी नेतृत्व निरन्तर रुपमा लागिपरेको दाबी गरे ।


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले मदन भण्डारीका सच्चा अनुयायी अध्यक्ष केपी शर्मा ओलीले सबै दललाई एक बनाएर संविधान संशोधन गरेर बृहत नेपालको चुच्चे नक्शा सार्वजनिक गरेको दाबी गरे । ‘एमाले पार्टी रहुञ्जेल कुनैप नि नेता तथा कार्यकर्ताले भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार विरोधी अभियान थालौं,’ उनले भने, ‘मदन आश्रित स्मृति दिवसको सन्दर्भमा विश्वास र संकल्प गरौं । हाम्रो कार्यशैली सुधार गरौं । साधा जीवन र उच्च विचार अगालौं ।’
उनले सबै नेता, कार्यकर्ता उद्देश्य र लक्ष्यबाट विचलित नभई देश र जनताको सेवा गर्ने प्रण गर्नुपर्ने बताए । नेता अधिकारीले मिसन ग्रासरुट अभियानपछि सुद्धिकरण अभियान सुरु हुने जनाए ।


कार्यक्रममा प्राडा कृष्णराज अधिकारीले जनताको बहुदलीय जनवादको आलोकमा समाजवाद निर्माणको मार्ग र जनप्रतिनिधिको दायित्व विषयक कार्यपत्र पेश गरे । समारोहमा पोखरा महानगर कमिटीले प्रकाशन गरेको मुखपत्र अभियानसमेत सार्वजनिक गरियो । कवि विजया सुवेदीले मदन भण्डारीका बारेमा लेखिएको रचना वाचन गरिन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया