‘सबै काण्ड छानबिन गर’

समाधान संवाददाता २०८० जेठ ४ गते १०:५५

पोखरा ।
मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल (मानव अधिकार एलाइन्स)ले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न समयमा भएका भ्रष्टाचारसम्बन्धी सबै काण्ड निष्पक्ष र पारदर्शी ढंगले छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

एलाइन्सले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र पठाउँदै दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न माग गरेको एलाइन्स गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा सुवेदीले जानकारी दिए ।

‘सरकारका केही उच्च पदस्थ कर्मचारी, पूर्व मन्त्रीहरु तथा उनका आफन्तकासमेत संलग्न भई गलत ढंगले नागरिकलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दुरुपयोग हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नीति निर्माता र राज्य संचालकहरु नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली कमजोर हुनु हो ।’ ज्ञापनपत्रमा अपराधिक घटना कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गरिएको छ ।

Advertisement

ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी छानबिन आयोग यथाशीघ्र गठन गरी अनुसन्धान प्रक्रियालाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशसान र मानवअधिकारको प्रत्याभूति गराउन सरकारसँग माग गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया