विद्यापीठका प्राध्यापकलाई तालिम

समाधान संवाददाता २०८० जेठ ४ गते १२:३६

पोखरा ।
अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा बुधबारदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले उद्घाटन गरे ।

कार्यक्रममा कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको जरो भएको बताउँदै यो नैतिक चेतना र सभ्यताको स्रोत भएको उल्लेख गरे । बाहिरी संसारले उच्च महत्त्व दिनुका साथै माया गरेको यस वाङ्मयलाई कदर गर्न नसकेको उनको भनाइ छ ।

विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको उल्लेख गर्दै उनले हाम्रो सभ्यता र संस्कृतिको मौलिकता जोगाउन संस्कृतको पठनपाठनलाई तल्लो तहसम्मै पुर्याउनु जरुरी रहेको जनाए । क्षमता विकास तालिमले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उनको विश्वास छ ।

Advertisement

नेपाल संस्कृत विश्विद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले विश्वविद्यालयले सबै प्राध्यापकलाई प्राज्ञिक अध्ययन र अनुसन्धानका निश्चित कार्य गर्नैपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । पदोन्नतिका लागि मात्र अनुसन्धान गर्ने प्रवृत्ति रहेकोमा जोड दिदै उनले तालिम र अभिमुखीकरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठलाई अनुसन्धान एवं प्राज्ञिक क्षेत्रमा गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक भएको जनाए । विद्यापीठका संस्थापक प्राचार्य सहप्राध्यापक श्रीराम बरालले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताए ।

Advertisement

विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीको अध्यक्षतामा भएको समारोहमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक डा. चूडामणि कँडेल र उपप्राध्यापक प्रकाश पौडेलले पनि बोलेका थिए ।

सहप्राध्यापक सत्यराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका उपप्राध्यापक डा सवीन्द्रराज भण्डारीले प्रोस्पेक्ट्स एन्ड च्यालेन्ज्स अफ टिचिङ कम्पलसरी इङलिलस इन शास्त्री फस्ट एन्ड सेकेन्ड इयर शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।

उक्त कार्यपत्रमाथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक भरत ढकालले टिप्पणी गरे भने प्राध्यापकहरू श्यामप्रसाद पौडेल, अम्बिकाप्रसाद भट्टराई, योगराज पौडेल, विष्णुप्रसाद शर्मा र प्रकाश पौडेलले जिज्ञासा र सुझाव राखे ।

दोस्रो सत्रमा सिद्धान्त ज्योतिषका सहप्राध्यापक पूर्णचन्द्र वाग्लेले ‘प्रथम लग्नानयनमा देखिएका समस्या र निराकरणका उपायहरू’ शीर्षकको अवधारणापत्र प्रस्तुत गरे । यसमा सहप्राध्यापक श्रीराम बरालले टिप्पणी एवं प्राध्यापकहरू पशुपति दवाडी, नारायणप्रसाद सापकोटा, योगराज पौडेल, जगन्नाथ रेग्मी, सवीन्द्रराज भण्डारी र भानुभक्त आचार्यले सुझाव र जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया