कृषि पसलेको गुनासोः चाहिएजति मल पाइएन

सञ्जय रानाभाट २०८० जेठ ५ गते १०:४२

सञ्जय रानाभाट, पोखरा ।
बालीनालीलाई चाहिने युरिया मल पोखरामा अभाव देखिएको छ । युरिया मल सहज उपलब्ध नहुँदा कृषिसँग जोडिएका संघसंस्था व्यापार व्यवसायी, उपभोक्ता र योसँग जोडिएका सरोकारवाला निकाय नै चिन्तित बनेका छन् । केही व्यवसायीले त व्यवसाय नै नवीकरण नगरी छाड्ने स्थितिमा पुगेको बताएका छन् ।

अन्नबालीमा युरिया नहाल्दा उत्पादन घट्ने हुँदा मलकै लागि उपभोक्तादेखि व्यवसायीले संघर्ष गर्नुपरेको पोखराका कृषि सहकारीले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङसँग गुनासो पोखेका छन् ।

उपमेयर गुरुङको संयोजकत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय कास्की, महानगरको कृषि शाखासहितको टोलीले लेखनाथ क्षेत्रका कृषि सहकारी र कृषि पसलहरुमा अनुगमन गरेको थियो । बजारमा केही व्यवसायीहरुले नियम विपरीत पसल सञ्चालन गरिरहेको भेटिएको उपमेयर गुरुङले बताइन् ।

Advertisement

‘अनुगमन महानगरको नियमित नै हो । अनुगमनका क्रममा केही कृषि सहकारीहरुले नियम विपरित पसलहरु सञ्चाल गनुभएको रैछ । उहाँहरुलाई सम्झाएर वार्निङ पनि दिएका छौं,’ उपमेयर गुरुङले भनिन् ।

‘महानगरभित्र २ हजार टन माग छ । तर झण्डै ७÷८ सय टन मात्र माथिबाट आउँछ । त्यो माग अनुसार मल ल्याउन पहल गरिरहेका छौं,’
उपमेयर मञ्जुदेवी गुरुङ

Advertisement

कृषि सहकारी संस्थासँग समझदारी गरी सञ्चालन भएका पसलहरुमा विषादी बिक्री प्रमाणपत्र नलिएको, रासायनिक मल खरिद बिक्री परिमाण यकिन नभएको भेटिएको छ । कतिपय पसलहरुले पोखरा महानगरमा दर्ता नै नगरी सञ्चालन नगरेको भेटिएको उपमेयर गुरुङले बताइन् ।

‘पसल सञ्चालन गर्दा घरबेटीले बहाल कर नतिरेको पनि भेटियो । बिक्री रसिद प्रयोग नभएको, नापतौल नवीकरण नभएको र स्टक यकीन नभएका पसल भेटियो,’ उपमेयर गुरुङले भनिन्, ‘उहाँहरुलाई महानगरको कृषि शाखामा सबै डकुमेन्ट पु¥याएर आउन बोलाइएको छ । अटेर गरे नियमअनुसार कारबाही गर्छौं ।’

अनुगमनकै क्रममा पसलहरुमा म्याद ग्रुजेका समान पनि भेटिएका छन् । उनीहरुलाई पत्र काटेर महानगरको कृषि शाखामा उपस्थित हुन निर्देशन गरिएको महानगरको कृषि शाखाका प्राविधिक शिवसिंह धामीले बताए । बिहीबार पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था, अर्घाैं कृषि सहकारी संस्था, सिलिंगे कृषि सहकारी संस्था, जनप्रिय कृषि सामग्री बिक्री भण्डार, शिशुवा कृषि भण्डारमा अनुगमन गरिएको हो । उपमेयर गुरुङ, कास्की जिल्लाका सहायक सिडिओ गुरुदत्त ढकाल, महानगरका भरतराज पौडेल, शिवप्रसाद गौतम, कृषि महाशाखाका शिवसिंह धामीसहित पत्रकार टोली अनुगमनमा पुगेको थियो ।

मलको माग कहिले पूरा हुन्छ ?
अनुगमनमा पुगेको टोलीलाई व्यवसायीले मल कहिले पुग्ने गरी आउँछ भनेर प्रश्न गरेका छन् । तालचोकस्थित जनप्रिय कृषि सामग्री भण्डारसँग मिलेर पसल सञ्चालन गरिरहेका कृष्णप्रसाद तिवारीले उपमेयर गुरुङलाई तपाईं त हाम्रो जनप्रतिनिधि हो, किसानले कहिले पुग्ने गरी मल पाउँछन् ? भनेर सोधेका थिए । तिवारीले उपमेयर गुरुङलाई उपभोक्ताले १ बोरा मल माग्दा १ केजी दिने गरेको सुनाए । ‘१ बोरा चाहियो भनेर आउँछन् । तर, हामीले १ केजीभन्दा दिन सक्ने अवस्थामा छैनौं । यो अवस्था सहज कहिले हुन्छ ?’ उनले सोधे ।

जवाफमा उपमेयर गुरुङले महानगरले साल्ट टे«डिङ कर्पोरसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडसँग कुरा गरिरहेको बताइन् । ‘किसानलाई कति मल दिने भन्ने कुरा अहिले महानगरको हातमा छैन । तै पनि हामीहरुले थप मल ल्याउने प्रयास गरिरहेकै छौं । पत्र लेखेर पोखरामा मलको माग बढी छ । माग अनुसारको मल उपलब्ध गराइदिन अनुरोध पनि गरेका छौं । यो समस्या छिट्टै समाधान हुन्छ,’ उपमेयर गुरुङले तिवारीलाई जवाफ दिइन् । माग अनुसारको माथिबाट मल उपलब्ध नभएको उपमेयरको गुरुङको भनाइ छ ।

‘पोखरा महानगरभित्र २ हजार टन माग गरेका थियौं तर, झण्डै ७/८ सय टन मात्र माथिबाट आयो । त्यो भएर महानगरले कृषि सहकारी र उपभोक्तले भनेजति उपलब्ध गराउन सकेका छैनौं,’ उपमेयर गुरुङले भनिन् । युरिया, डिएपी र पोटास जस्ता मलहरु महानगरको कृषि शाखाले साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीसँगको सहकार्यमा ल्याउँछ । तर, उपभोक्ताले चाहेजस्तो मल पाएका छैनन् ।

कालिका चोकस्थित सिलिंगे कृषि सहकारी संस्थामा पनि महानगरले अनुगमन गरेको थियो । यहाँ पनि समस्या उस्तै छ । पसल छ । तर, युरिया मल छैन । पसल सञ्चालक उपेन्द्र बञ्जाराले अनुगमन टोलीलाई सुनाए । ‘अड्कलेर उपभोक्तालाई मल दिनुपर्ने बाध्यता कहिले हट्छ ? ग्राहकले चाहेजस्तो मल दियो भने त आधा घन्टामा पसल बन्द हुन्छ,’ उनले भने, ‘एउटै ग्राहकले १ बाटो खोज्छन् । हामीले अड्कलेर १÷२ केजी दिनुपर्छ ।’ आफ्नो पसलमा मात्र दैनिक १० बोरा मल डिमान्ड भएको उनको भनाइ थियो । ‘मेरो पसलबाट १० बारा मल आवश्यक छ । तर, १ बोरा पनि पाइँदैन । ग्राहकलाई रित्तो हात फर्काउनुपर्ने अवस्था छ,’ बञ्जाराले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया