जोमसोममा रौनक, अपर राहरन्न

सुन्दरकुमार थकाली २०८० जेठ ५ गते १०:५२
राउन्ड अन्नपूर्ण पदमार्गमा यात्रा गर्दै पर्यटक । तस्बिरः छेवाङ रिन्जिङ गुरुङ

जोमसोम ।

पछिल्ला केही महिनामा मुस्ताङमा उल्लेख्य विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले दिएको जानकारी अनुसार सन् २०२३ का साढे ४ महिनामा ३१ हजार ३ सय ३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

यो तथ्यांक सन् २०२३ को जनवरीदेखि मे १८ सम्मको हो । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकतर भारतीय छन् । मुस्ताङ भित्रिएका विदेशीमध्ये सार्क राष्ट्रका २८ हजार ८ सय ९७ अर्थात् ९२ दशमलव २३ प्रतिशत र तेस्रो मुलुकका २ हजार २ सय ३३ अर्थात ७ दशमलव ७७ प्रतिशत छन् ।

Advertisement

एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जनवरीमा ५ सय ६९ जना, फेबु्रअरीमा १ हजार ६ सय ९३, मार्चमा ६ हजार ३ सय ७४, अप्रिलमा १४ हजार ७ सय ४२ र मार्च १८ सम्ममा ७ हजार ९ सय ५२ जना विदेशी मुस्ताङ आएको जानकारी दिए ।

जोमसोममा पछिल्लो साढे ४ महिनामा ३१ हजार विदेश पुगे पनि मुस्किलले २ प्रतिशतमात्र अपर मुस्ताङ जान्छन्

Advertisement


कोरोना कहरअघि वार्षिक औसत ५९ हजार विदेशी पर्यटक मुस्ताङ आउथे । गत वर्ष अर्थात सन् २०२२ मा ५२ हजार ३ सय ९० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये सार्क राष्ट्रका ४६ हजार ८ सय ६३ अर्थात ८९ दशमलव ४५ प्रतिशत र तेस्रो मुलुकका ५ हजार ५ सय २७ जना थिए ।

सन् २०२२ को तथ्यांक अनुपातमा सन् २०२३ को १ सय ३८ दिनमा ५९ दशलमव ८० प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको एक्यापका कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उनले सन् २०२३ मा विदेशी पर्यटकको संख्या ६० हजार कट्ने अनुमान गरे ।

मुस्ताङ भित्रिएका पर्यटकमध्ये कतिपय पोखरा जोमसोम हवाई सेवामार्फत आएका हुन् भने कतिपय विदेशी पर्यटक लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिएका हुन् । उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा अवलोकन गर्न ४ सय ४२ जना विदेशी उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् ।

मुस्ताङको कलात्मक पृथक भूगोल, ऐतिहासिक तथा धार्मिक सम्पदा, जैविक विविधता र विभिन्न खोज अनुसन्धानको केन्द्रसमेत रहेकाले मुस्ताङ पर्यटकको रोजाइमा पर्दै आएको छ । तिब्बतीयन कला, संस्कृति, यहाँका सदियौं पुराना गुम्बा, मठ, मन्दिर, छोर्तैन र मानेहरुले मौलिक र पृथक धार्मिक, सांस्कृतिक पहिचान दिएका छन् ।

हालै अमेरिकी समाचार संस्था सिएनएनले विश्वकै घुम्नैपर्ने २३ पर्यटकीय गन्तव्यको सूचीको १६ औं स्थानमा मुस्ताङलाई समावेश गरेको छ । सिएनएनको सूचीमा पर्ने मुस्ताङ दक्षिण एसियाकै पहिलो उपत्यका हो । यो सूचीका कारण पनि सन् २०२३ मा उल्लेख्य विदेशी पर्यटक मुस्ताङ आउने अनुमान गरिएको छ । सिएनएनले मुस्ताङ उपत्यका घुम्नैपर्ने सूचीमा समावेश गरे पनि उपल्लो मुस्ताङमा निकै थोरै पर्यटक जाने गरेका छन् ।

जोमसोम आइपुग्ने करिब २ प्रतिशत पर्यटक उपल्लो मुस्ताङ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र अन्र्तगत उपल्लो मुस्ताङ निषेधित तथा नियन्त्रित क्षेत्र भएकाले जान त्यहाँ विदेशी पर्यटकले चर्को शुल्क तिर्नुपर्छ ।

सरकारले उपल्लो मुस्ताङ जाने पर्यटकसँग १० दिनका लागि ५ सय डलर लिने गरेको छ । चर्काे रोयल्टी तिर्नुपर्ने बाध्यताले सीमित पर्यटकमात्र उपल्लो मुस्ताङ आउने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट बताउँछन् । उनले उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन र विकास गर्न अध्यागमनले लिने ५ सय डलर शुल्क समायोजन गर्न सुझाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया