सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि ढोरपाटनका मेयर ‘फरार’

समाधान संवाददाता २०८० जेठ ७ गते १७:२३

बाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । ढोरपाटनका उपमेयर धनबहादुर कायतअनुसार उपमेयरलाई कार्यवाहकको पत्र थमाएर सम्पर्कविहीन भएका हुन् ।

‘शुक्रबार म कार्यक्रम भएकाले कार्यालय गएको थिएन, आइतबार कार्यालयमा जाँदा ‘म नआउँदासम्म कार्यवाहक सम्हाल्नुहोला’ भनेको ५ गतेको पत्र मैले पाए । मेयरसाबसँग सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने ।

सहकारीको विषयमा मेयर सम्पर्कविहीन भएको वागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘उहाँ चाहिँ एमेज सहकारीको अध्यक्षसमेत हुनुहुन्छ, सहकारी बचत फिर्तासम्बन्धी इन्स्युमा अलिअलि तनाव छ । उहाँ सम्पर्कमा हुनुहुन्न भएन हामीले आज बिहान थाहा पाएका हौं,’ उनले भने ।

Advertisement

खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको भनाइ छ । उनले भने, ‘बचतकर्ता तथा कर्मचारीहरुसँग छलफल गरिरहेका छौं । गृहमन्त्रीलाई लेखेर पठाएका छौं । प्रहरी परिचाहन भएको छ ।’

मेयर नेपालीले एक महिनाअघि विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकाले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए । मेयर नेपालीलाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ गरिएको छ ।

Advertisement

नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ । शाखा कार्यालयहरू पोखरा र बागलुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरैजना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।

तपाईको प्रतिक्रिया