आधार शिविरमा खेलकुद प्रतियोगिता

समाधान संवाददाता २०८० जेठ ८ गते ११:४२

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरमा विभिन्न खेलकुद प्रतियोगिता भएका छन् । पर्यटन प्रवद्धनमा टेवा पुगोस् भनी अन्नपूर्ण गाउँपालिकाले त्यहाँ खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड, छेलो हान्ने र अन्दनिशान प्रतियोगिता भएका छन् । १ सय मिटर दौड प्रतियोगितामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटनकर्मी गरी ३० जना सहभागी थिए ।

प्रतियोगितामा सन्दीप शर्मा रिजाल प्रथम, यामप्रसाद पुर्जा पुन द्वितीय र विष्णुप्रसाद रिमाल तृतीय बने । छेलो फाल्ने प्रतियोगितामा सबैभन्दा टाढा छेलो फालेर यामप्रसाद पुर्जा पुन विजयी बने । दौडतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार तथा छेलो फाल्नेमा विजेतालाई नगद ३ हजारसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisement

विजयीरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामी, वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा, वडा नम्बर ८ का अध्यक्ष खमबहादुर गर्वुजा लगायतले पुरस्कार वितरण गरे ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । हिमालका प्रथम आरोहीको नामबाट नामाकरण गरिएको पदमार्गको प्रचार प्रसारका लागि आधार शिविरमा खेलकुद प्रतियोगिता गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदी बताउँछन् ।

Advertisement

अन्नपूर्ण हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको हिमालका रुपमा परिचित छ । प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भइसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

नारच्याङ हुँदै छोटेपा हुमखोलासम्म २० किलोमिटर सडक ट्याक बनेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटरमा पदमार्ग, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार निर्माण भएपछि नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकै दिनमा पुग्न सकिनेछ । आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चार लगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया