घरपझोङमा सफाइ अभियान

सुन्दरकुमार थकाली २०८० जेठ ८ गते १३:२७

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कालिगण्डकी नदी तथा जोमसोम बजार सरसफाइ गरेका छन् । सदरमुकामसमेत रहेको जोमसोम बजार क्षेत्रलाई स्वच्छ, सफा, सुन्दर र वातावरणमैत्री तुल्याउन घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबार पालिका सरसफाइ गरेका हुन् ।

पालिका अध्यक्ष मोहनसिंह लालचनको उपस्थितिमा कार्यक्रम भएको हो । घरपझोङले फोहोर मैलाबाट विभिन्न रोग संक्रमण बढ्ने र फोहोरकै कारण विकृति बढ्ने र यसले सदरमुकामको सौन्दर्यलाई नष्ट गर्न सक्ने भन्दै मासिक रुपमा एक पटक नियमित पालिका सरसफाइ गरी वातावरण चुस्त राख्ने निर्णय गरेको छ । सरसफाइले सकारात्मक सन्देश प्रवाह गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।

कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली, ५ वटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यसहित कर्मचारीहरु सहभागी थिए । उनीहरुले जोमसोम स्थित पक्की पुलको कालीगण्डकी नदीको तटीय क्षेत्रसहित जोमसोम बजार क्षेत्र सफाइ गरेका छन् । त्यस क्रममा निक्लिएका कुहिने फोहोर जलाएर नष्ट गरिएको छ भने नकुहिने सिसाका बोतल, फलाम, प्लास्टिक, टिन जस्ता सामग्री एकत्रित गरी व्यवस्थापन गरिएको छ ।

Advertisement

यसअघि घरपझोङ गाउँपालिकाले प्रत्येक महिनाको पहिलो हप्ताको शुक्रबार जोमसोम बजार क्षेत्र र कालिगण्डकी नदीको सरसफाइ गर्ने निर्णय लिएको् थियो । त्यही निर्णय अनुसार जनप्रतिनिधि र कर्मचारी फोहोर व्यवस्थापन तथा सरसफाईमा जुटेको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

मुस्ताङको प्रमुख पर्यटकीय सहर जोमसोमलाई स्वच्छ, सफा, सुन्दर र वातावरणमैत्री तुल्याउनु स्थानीय तहको दायित्व रहेको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे । गाउँपालिकाले सिसाका बियर बोतल वैशाख महिनादेखि बिक्री वितरण गर्न रोक लगाएको छ ।

Advertisement

चालु आर्थिक वर्षभित्रै फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको र यसका लागि १ करोड बजेटसमेत विनियोजन भइसकेको अध्यक्ष लालचनले बताए । घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिले पालिकाको नियमित कामकाजलाई असर नपर्ने गरी कार्यालय खुल्ने समयअगावै सरसफाइ गरेका हुन् ।

घरपझोङ गाउँपालिकाले स्थानीय पालिकाबासीलाई जथाभावी फोहोर नफ्याक्नसमेत अनुरोध गरेको छ । गाउँपालिकाले सरसफाइको खाजा खर्चका लागि ५ वटै वडामा २ लाख ५० हजार विनियोजन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद अचार्यले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई स्वच्छ र सफा राख्न स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताए । अनाधिकृत फोहोर मिल्काउने परिपाटी र फोहोरलाई व्यवस्थित गर्न चासो नदिँदा प्रदूषण बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यले पर्यटकीय सुन्दरता कायम गर्न र पर्यटकलाई मुस्ताङको सौन्दर्यप्रति आकर्षित बनाउन सरसफाइका साथै सचेतनाको खाँचो औंल्याए ।

गाउँपालिकाले फाहोर व्यवस्थापनका लागि सरसफाई अभियानमा सबैको अपनत्व आवश्यक रहेको उल्लेख गर्दै भावी दिनमा सबै सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने जनाएको छ । घरपझोङ गाउँपालिकाले हालै फोहोर मैला व्यवस्थापन विधयेक पारित गरेको छ । पालिकाको ११ औं गाउँसभा अधिवेशनले पालिकालाई वातावरणमैत्री तुल्याउन फोहोर मैला व्यवस्थापन विधयेकलाई ऐन रुपमा कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया