मगरको संस्कृति संरक्षणमा जोड

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२९

पोखरा ।
स्याङ्जाको पूर्वी क्षेत्रको मौलिक लोक संस्कृतिलाई समेटेर बनाइएका डकुमेन्ट्री पोखरामा प्रर्दशनी गरिएको छ । हरिनास तथा बिरुवा गाउँपालिकाको कृष्णचरित्र, ठाडोभाका, भैरमथानको यात्रा, तलु, बाजे बज्यैको पूजा प्रदर्शन गरिएको निर्देशक गोविन्द थापा सिञ्जालीले बताए ।

चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्ज कास्कीले आयोजना गरेको कार्यक्रममा लोक संस्कृतिको संरक्षण, समाजसेवा तथा साहित्यको क्षेत्रमा योगदान पुर्याएका १० व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका पूर्व अध्यक्ष तथा नेपाल मगर संघ कास्कीका पूर्व अध्यक्ष कृष्णबहादुर थापामगर, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, कवि ईन्द्र राना ‘प्रतीक’, रेडियो नेपाल गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रप्रसाद यादव, समाजसेवी महेशकुमार थापामगर, एनआरएन हङकङका सदस्य रेविका मगर, समाजसेवी कृष्णप्रसाद शर्मा, नेत्रबहादुर थापा, हुमाकुमारी थापा र नीलाम्बर थापालाई मञ्चले सम्मान गरेको हो ।

Advertisement

स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले मौलिक लोक कला र संस्कृतिको संरक्षण गरी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । ‘मौलिक लोकगीत तथा संस्कृति लोप हुँदै गएको छ । अहिले आधुनिकता मिसिदै जाँदा पिता, पुर्खाले जोगाएर राखेको लोक संस्कृति लोप हुने खतरामा छ,’ उनले भने, ‘भावी पुस्ताका लागि जस्ताको तस्तै हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।’ अध्यक्ष मानन्धरले कला, संस्कृति सम्पत्ति भएकोले पालिकाले संरक्षणमा विशेष जोड दिएको दाबी गरे ।

पृथ्वीनारायण क्याम्पसका प्राडा कुशुमाकर न्यौपानेले संस्कृति भित्रको सानो पाटो संगीत भएको बताए । उनले संगीतभित्र गीत र नाँच पर्ने उल्लेख गरे । बाजे बज्यैको पूजा, सोरठी, कृष्णचरित्र, रामायण नाँच, ठाडो भाका मगर समुदायमा प्रचलित भएको जानकारी दिँदै उनले मगर समुदायको घाटु गुरुङको जस्तो चर्चित नभएको उल्लेख गरे ।

Advertisement

कृष्णचरित्र गीत नभएर भगवान कृष्णको गाथा भएको उल्लेख गर्दै उनले कौरामा समेत दोहोरी पाइने जानकारी दिए ।

कार्यक्रममा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, शान्ति श्रीसमगर, पोखरा कला केन्द्र तथा चित्रेभन्ञ्याङका कलाकारले प्रस्तुति राखेका थिए ।

चित्रे भञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष बुद्धिराम लम्साल, सचिव रुद्र सन्देशमगर, सञ्चारकर्मी गोविन्द सिंजाली, साहित्यकार सुरज उपाध्याय, पत्रकार दुर्गा रानामगर मगर लगायतले लोक संस्कृतिका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया