एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण

समाधान संवाददाता २०८० जेठ १४ गते १४:२१

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम भएको छ । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बुढाले सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त र उद्देश्यमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे ।

समारोहमा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

Advertisement

समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवंगत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा क्रमागत सर्वाेत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिने २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०७९ मा कक्षा ६ का नसिब पौडेल पुरस्कृत भए ।

बालबालिकाहरूसँग तीन दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्वर्गीय मातापिताका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवम् संरक्षक बरालले बताइन् ।

Advertisement

योजना आयोग उपाध्यक्ष डा. देवकोटाले गण्डकी प्रदेशको नीति तथा योजनासम्बन्धी बजेट तर्जुमा गर्ने क्रममा एसओएसको आदर्श र उद्देश्यलाई समेत सम्बोधन गर्ने गरी विगतका सहयोगलाई थप परिष्कृत रूपमा निरन्तरता दिने विषयमा आयोग प्रतिबद्ध रहेको बताए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गरे ।

प्रधानाध्यापक चूडामणि सुवेदीले राज्यको परिवर्तित शैक्षिक प्रणालीअनुसार विषयगत रूपमा विद्यार्थीहरूलाई पुरस्कृत गर्ने नयाँ अभ्यास प्रारम्भ गरिएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, एसओएस बालग्रामकी आमा प्रतिनिधि कल्पना पाण्डेलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो । समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया