फेवा अन्तिम सास फेर्दै छ…

सञ्जय रानाभाट २०८० जेठ १५ गते ११:०२

सञ्जय रानाभाट, पोखरा ।
फेवा जोगाउने दिनदिनै हुन्छन् तर अहिले हरेक दिन यसको अतिक्रमण जारी छ । डाँडा काटेर फेवाको सिमसार क्षेत्र पुर्दै घडेरी बनाउँदै गरेका दृश्य आम भइसकेका छन् । जनस्तरमा विरोध भए पनि सरोकारवाला पोखरा महानगर र गण्डकीसरकार, जिल्ला प्रशासन कार्यालय र ताल प्राधिकरणले रोक्न प्रभावकारी कदम चालेका छैनन् ।

जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समिति अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने निर्णय लिएको थियो । प्रशासनसँग सहयोग माग्नेसम्मको निर्णय बैठकले गरेको भए पनि सिमसार पुर्न रोक्न ठोस प्रयास भएको देखिँदैन ।

आइतबारको प्रदेश सभा बैठकमा सभा सदस्यहरुले शून्य समयमा फेवाताल अतिक्रमण रोक्न माग गरे ।

Advertisement

एमाले सांसद देवका पहारीले बिम्बात्मक रुपमा फेवातालले अन्तिम सास फेरिरहेको सुनइन् । उनले प्रदेश सरकारलाई फेवातालको सिमसार बचाउन उनले अनुरोध गरिन् । ‘सिमसार क्षेत्रमा दिनहुँ डोजर देखिन्छ ।

हिजो समुन्द्र जस्तो लाग्ने ताल अहिले ठूली पोखरी जस्तो भएको छः देवका पहारी

Advertisement

माटोले पुरिरहेको जमिन देखिन्छ । यो भनौं कि फेवाताल अन्तिम सास फेरिएको छ । गुहार मागिरहेको छ,’ उनले भनिन् । फेवालाई आसियुमा राखेर उपचार गर्नुपर्ने उनको भनाइ छ ।

आफू बच्चा हुँदा पानी खाएर हुँर्किएको फेवाताल अहिले पोखरीमा परिणत भएको उनी उल्लेख गर्छिन् । ‘फेवाताल विश्व रामसार सूचीमा छ । हिजो मलाई समुन्द्र जस्तो लाग्ने यो ताल अहिले ठूलो पोखरी जस्तो भएको छ,’ पहारीले गुनासो गरिन् ।

महानगरको नक्कली अनुमति पत्र देखाउँदै अतिक्रमण हुँदा पनि सरोकारवाला निकाय मौन रहेको उनको आरोप छ । दुई दिनको स्वीकृत लिएर २ महिनासम्म डोजर चलाइएको उनको दाबी छ ।

कांग्रेस सांसद प्रकाश बरालले सरोकारवाला निकायको असक्षमताले फेवाताल अतिक्रमणमा परेको तर्क गरे ।

उनले कार्यान्वयन गर्ने निकायले निर्णय लिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको सुनाए । ‘गण्डकी प्रदेशको एउटा समृद्धिको सूचक फेवाताल आजभोलि मानवीय अतिक्रमणले रोइरहेको छ,’ बराल भन्छन् ।

नगर प्रहरीमाथि दुव्र्यवहार गर्ने छुटे
शनिबार सिमसार क्षेत्रको अतिक्रमण हटाउन पुगेका नगर प्रहरीमाथि दुव्र्यवहार गर्ने युवा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले सोधपुछपछि उनीहरुलाई छाडिएको बताए ।

हिरासतमा राखेको २४ घन्टा नपुग्दै उनीहरुलाई छाडिएको हो । ‘नगर प्रहरीमाथि दुव्र्यवहार भएको भनेर हिजो पक्राउ गरिएको थियो । आज सोधपुछ गरेर परिवारको जिम्मामा छुट्नुभएको छ,’ विकले भने । अनधिकृत रूपमा टिप्परमा माटो ओसार्ने गरेको पाइएपछि सोधपुछ गर्ने क्रममा युवाको जमातले नगर प्रहरीमाथि हुल, हुज्जत गरेको थियो ।

नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार पोखरा २४ पामेमाथि घाँटीछिनाको बीचमा इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि नगर प्रहरी अनुगमनमा पुगेको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया