विन्ध्यवासिनी माविमा पुरस्कार वितरण

समाधान संवाददाता २०८० जेठ १५ गते १३:०२

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले पुरानै ढर्राको नीति तथा योजनाले प्रदेशको विकास सम्भव बताएकी छन् । पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको वार्षिक पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रममा मन्त्री सिम्खडाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ विकास ल्याउने गरी आफू सरकारमा सहभागी भएको जनाइन् ।

‘स्वतन्त्र ढंगले योजना बनाए पनि, कार्यान्वयन गर्न गाह्रो छ । तर म अनुभूति दिलाउने गरी काम गर्छु,’ उनले भनिन् । मन्त्री सिम्खडाले आफ्नो मन्त्रालयले कुनै पनि कार्यक्रममा खाँदाको प्रयोगलाई निषेध गरिएको सुनाइन् ।

पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालय उत्कृष्ट हुनुमा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने जनाए । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरूदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक दुर्गा सापकोटाले पनि बोलेका थिए ।

Advertisement

कार्यक्रममा नर्सरी देखि १२ सम्मको शैक्षिक तथा खेलकुद पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ । उत्कृष्ट विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चन्द्राकुमारी थापा, पूर्व अध्यक्ष गोविन्दबहादुर बस्नेत, पूर्व प्रधानाध्यापक अग्निधर शर्मा, अनुगमन समिति संयोजक चित्रबहादुर थापा, सल्लाहकार दानबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समिति सदस्य ईन्दु भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीले नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिक्षक दुर्गा थापा र कर्मचारी रामबहादुर केसीलाई सम्मानसहित बिदाइ गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया