आमाको स्मृतिमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

समाधान संवाददाता २०८० जेठ १६ गते १३:१३

पोखरा ।
आमाबा दुवैको अभिभावकत्वबाट वञ्चित ७ वर्षीया श्रीया सुनारलाई छात्रवृत्ति हस्तान्तरण गर्दा सिर्जना शर्मा भावुक बनिन् । गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख शर्माले बाल्यकालमै आफूले पनि बाआमा दुवैको ममता नपाएकोसमेत सम्झिइन् ।

डिकेडिएस फाउन्डेसनले सोमबार जिफन्ट गण्डकीसँग सहकार्य गरी आयोजना गरेको कार्यक्रममा शर्माले अरु २ बालबालिकालाई पनि छात्रवृत्ति प्रदान गरिन् । आफ्ना आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा मीना, रुपा र रीताले बर्सेनी गरिब र जेहेन्दार विद्यार्थीलाई फाउन्डेसनमार्फत् छात्रवृत्ति प्रदान गर्ने गरेका छन् ।

सोमबार श्रीयासँगै अर्जुन परियार र निर्जना परिवारले जनही ७ हजार पाए । शर्माले बाआमा र छोराछोरी दुवैतर्फ केही भ्रम रहेको भन्दै त्यो चिर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अझै बाआमामा छोराले मात्र पाल्न सक्छ भन्ने छ । वृद्ध बाआमालाई हेला गर्ने, वृद्धाश्रममा लैजाने चलन बढेको छ । दुवै पुस्ताले दायित्व निर्वाह गरी सुखी परिवार बनाउन जरुरी छ ।’

Advertisement

एमाले नेतृ मीना गुरुङले आफ्ना दुवै आमा क्यान्सरका कारणले बितेको उल्लेख गर्दै क्यान्सरबारे सचेतनासमेत आयोजना गर्ने गरेको सुनाइन् । उनले भनिन्, ‘हाम्रा दुवै आमा क्यान्सरले बित्नुभयो । हामी ३ दिदीबहिनीले यो फाउन्डेसन चलाएका छौं । हाम्रा सहोदर दाजुभाइ छैनन् तर हामीले अहिले धेरै दाजुभाइको साथ पाएका छौं ।’

जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले श्रमिकका जेहेन्दार र अति अप्ठ्यारो परिस्थितिमा रहेका बालबच्चालाई यो छात्रवृत्ति प्रदान गर्ने गरिएको उल्लेख गरे । जिफन्ट गण्डकी सहसचिव तीर्थराज मगरले समाजमा केही गर्न सक्नेले तल्लो र नसक्ने वर्गलाई सघाउनुपर्ने उल्लेख गर्दै आफूमा पनि यस्तै खालको सहयोग योजनावद्ध रुपमा गर्ने अभिलाषा आएको सुनाए ।

Advertisement

कार्यक्रममा जिफन्ट गण्डकीकी अर्का सहसचिव संगीता पाण्डेले यस्ता कार्यको सिको धेरैले गरे बालबालिकाले शिक्षा र अवसरको मार्गबाट वञ्चित हुनु नपर्ने जनाइन् ।

तपाईको प्रतिक्रिया