वर्षमै ३ पटक बिग्रियो सिटी स्क्यान मेसिन

सञ्जय रानाभाट २०८० जेठ २८ गते ११:०९

सञ्जय रानाभाट, पोखरा ।
नयाँ मेसिन जडान भएको एक वर्ष नपुग्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको छ । साउन २३ गते ७ वर्षमात्रै अस्पतालमा नयाँ मेसिनबाट सेवा सुरु गरिएको थियो । तर, एक वर्ष पनि नपुग्दै मेसिन दुईपटक बिग्रिसकेको छ ।

मेसिन बिग्रिएको यो तेस्रोपटक हो ।


सिटी स्क्यान मेसिनको काउन्स कन्ट्रोल बोर्डमा समस्या आएपछि नयाँ फेरिएको थियो । अहिले पनि सोही काउन्स कन्ट्रोल बोर्ड बिग्रिएको छ । बिरामीलाई तलमाथि लैजान नमिल्ने गरी सिटी स्क्यानको सेवा ४ दिनदेखि अवरुद्ध भएको अस्पतालका निर्देशक डा.भरत खत्रीले बताए ।

Advertisement


सिटी स्क्यान बिग्रिएको निर्माण कम्पनीलाई जानकारी गराए पनि कहिले बन्छ भन्ने टुंगो नभएको खत्रीले बताए । गण्डकीकै ठूलो यो अस्पतालमा प्रदेशभित्रका धेरै बिरामी आउँछन् । पोखराकै निजी अस्पतालले पनि गण्डकी अस्पतालमै रिफर गर्छ । सिटी स्क्यान मेसिन नेदरल्यान्डको फिलिक्स कम्पनीसँग ७ करोड रुपैयाँमा किनेर ल्याइएको हो ।

बिग्रिए मर्मतको सेवा दिनुपर्ने निर्माता कम्पनीसँग सर्त, कम्पनी भन्छः अस्पतालले मेसिन संरक्षण गरेन

Advertisement


सिटी स्क्यान बिग्रिएपछि अस्पताल प्रशासनले निर्माण कम्पनी र निर्माण कम्पनीले अस्पताल प्रशासन एक अर्कोलाई आरोप लगाउँदै आएका छन् । अस्पताल प्रशासनले निर्माण कम्पनीलाई जेन्युइन सामग्री नहालेको र समयमा सेवा दिन नसकेको आरोप लगाएको छ । निर्माण कम्पनीले अहिलेसम्म मेसिन हस्तान्तरण गर्न सकेको छैन ।


निर्माण कम्पनीले भने अस्पताल प्रशासनको हेल्चक्राइँले मेसिन बारम्बार बिग्रिएको आरोप लगाएको छ । सबै काम सकिँदा पनि अस्पतालले बाँकी २० प्रतिशत भुक्तानी नगरेको, अड्काउने र झन्झट दिने काम गरेको निर्माण कम्पनीको भनाइ छ । ‘सिटी स्क्यान मेसिन भएको ठाउँमा गएर खाजा खाएर पोख्ने गरेपछि मुसा बढेको पनि देखिन्छ । तर, पनि बारम्बार बिग्रिँदा मुसाले मात्र पनि होइन कि जस्तो पनि लाग्छ,’ कम्पनी स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले नै संरक्षण दिन नसकेको हो कि भन्ने शंका गर्न मिल्ने ठाउँ छ । यद्यपि मसँग कुनै प्रमाण छैन ।’


दुवैले एक अर्कोलाई आरोप प्रत्यारोप गर्दा अस्पताल र सिटी स्क्यान कम्पनी बिच तालमेल नमिलेको स्पष्ट छ । कम्पनीका प्रोजेक्ट इन्जिनियर अर्जुन न्यौपानेले १० महिनाको अवधिमा ३ पटक सिटी स्क्यान मेसिन बिग्रनु अनौठो भएको बताए । उनले भने, ‘यो छोटो समयमा मेसिनमा तीनपटक समस्या आइसक्यो । दुईपटक त कम्पनीले विदेशबाट सामान मगाएर बनायौं ।

अहिले पनि कम्पनीलाई सिटी स्क्यान बिग्रिएको जानकारी गराइसकेको छौं । कहिले सामान आउँछ थाहा छैन ।’

अस्पताल प्रशासनले भने पटकपटक सिटी स्क्यान बिग्रिँदा पनि छानबिन गरेको छैन । मेसिनको ५ वर्ष वारेन्टी छ भन्दै अस्पताल प्रशासन मौन बसेको छ । बरु कम्पनीलाई छिटो बनाउन दबाब दिएको छ । कम्पनीका प्रोजेक्ट इन्जिनियर न्यौपानेले अस्पताल प्रशासनकै हेल्चक्राइँले मेसिन बिग्रिएको सुनाउँछन् । ‘त्यहाँ पुगेर हेदा तार काटेको चिसो देखिन्छ,’ न्यौपानेले भने, ‘मुसा कन्ट्रोल नभएको हो कि जस्तो देखिन्छ । हामीले समस्याका बारेमा कम्पनीलाई जानकारी गराइसकेका छौं । सिटी स्क्यान राखिएको कोठामा सिसिटिभी पनि छैन । मानवीय त्रुटि हो कि मुसाले नै बिगारेको हो यसै भन्न सक्ने अवस्था छैन,’ प्रोजेक्ट म्यानेजर न्यौपानेले भने ।


कम्पनीले सिटी स्क्यान बनाउन ४/५ लाख रुपैयाँ दुईपटक खर्च गरिसकेको उनले जानकारी दिए । न्यौपाने उक्त सिटी स्क्यान हप्तैपिच्छे पुगेर चेक गर्छन् । तर, पनि समस्या आउँदा उनी आश्चर्यमा परेका छन् ।


एक ठाउँमा पटकपटक समस्या देखिनु अनौठो भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले मुसाले तार काटेको र पिसाब फेरको भनेर भने पनि अस्पतालका निर्देशक डा भरत खत्री भने यो कुरा स्वीकार्ने पक्षमा छैनन् । किनभने अस्पतालले मुसा नियन्त्रण गर्न १ लाख २० हजार रुपैयाँको औषधी नै राखेको छ । ‘कम्पनीबाट आउनुभएको साथीहरुले हामीले बुझने भाषामा मदर बोर्ड बिग्रिएको भन्नुभएको छ ।

त्यो विगतमा मुसाकै कारण बिग्रिएको भने पनि अहिले तर, ३०/३० हजार रुपैयाँ पर्ने औषधी राखेर मुसा नियन्त्रण गरेका छौं। मुसाले त हुँदै होइन,’ निर्देशक खत्रीले भने, ‘बरु लोड भएर बिग्रिएको हो कि भन्ने हाम्रो आशंका छ ।’ उनका अनुसार अस्पतालबाट दैनिक २५/३० जनाको सिटी स्क्यान गर्दा लोडले बिग्रिएको हुन हो । उक्त मेसिनको क्षमताबारे अस्पताल बेखबर छ ।


निर्देशक खत्रीले बिरामी निजीमा जान नपरोस् भनी क्षेत्रीय अस्पतालकै मूल्यमा शुक्रबार ग्रिन पाश्चर्स अस्पालत हरियो खर्कसँग सिटी स्क्यानको सेवा दिने गरी सम्झौता गरिएको बताए । क्षेत्रीय अस्पतालबाट नै बिलिङ हुने गरी सेवा सुरु गरिएको निर्देशक खत्रीले सुनाए । ‘हरियो खर्क अस्पताल बिच एक अर्को अस्पतालमा रहेका सिटी स्क्यान मेसिनमा समस्या आए सेवा अवरुद्ध भएको अवस्थामा सेवा नियमित सञ्चालनका लागि शुक्रबार सम्झौता भएको छ,’ अस्पताल प्रशासकीय अधिकृत सुमन भट्टराईले निकालेको पत्रमा भनिएको छ । अस्पतालको सिटी स्क्यान मेसिन सञ्चालनमा समस्या देखिएको अवस्थामा बिरामीहरूलाई हरियोखर्कमा पु याएरर‍ पुन अस्पतालमा ल्याउने गरी गाडीको व्यवस्था गरेको छ । सोका लागि बिरामीले साविककै अस्पतालमा बिलिङ गर्नुपर्ने छ । सिटी स्क्यान सेवामा बिमा पनि लागु हुनेछ ।


बेलुका बन्द गरेर गएँ, बिहान आउँदा चलेनः टेक्नोलोजिस्ट कृष्ण
मेसिन बिग्रिएको अघिल्लो दिन सोही विभागमा काम गर्ने टेक्नोलोजिस्ट कृष्ण दाहालले दिनभर काम गरेर बेलुका ६ बजे डिपार्टमा साँचो लगाएर घर गए । भोलिपल्ट बिहानै ९ बजे काममा पुग्दा भने सिटी स्क्यान मेसिन चलेन । उनीसहित काम गर्ने अन्य तीन सहकर्मी पनि छक्क परे ।

अघिल्लो दिन मजाले चलाएको मेसिन एक्कासि बिग्रिएपछि बाहिर सेवा लिन आएका सेवाग्राही फर्के । दाहाल भन्छन्, ‘सिटी स्क्यान डिपार्टको चाबी हामी केही सीमित व्यक्तिसँग मात्र हुन्छ । बाहिरबाट आएर बिगार्न सम्भव छैन । तर एक्कासि बिग्रिँदा हामी पनि आश्चर्यमा परेका छौं ।’ शंका गर्नुपर्ने जस्तो नभएको उनले सुनाए । पहिलाको जस्तो मुसाको दिसापिसाब नदेखिएको उनले सुनाए ।


प्रशासनले आफूहरुले नै बिगारेको हो कि जस्तो व्यवहार गरेको उनको भनाइ छ । तर, आफूहरूलाई जाँच्ने विषयमा थाहा भए पनि मेसिनको पाटपुर्जाका बारेमा थाहा नहुने उनले बताए । ‘कसरी बिग्रिएको हो । कम्पनी र प्रशासनले छानबिन गरे भयो नि ।

कम्पनीले आफैंले बोलिहाल्छ । मान्छेले बिगारेको र आफैं बिगारेको भन्ने थाहा भइहाल्छ,’ उनले भने, ‘मान्छेले नै बिगारेको रहेछ भने पनि कसले बिगारेको हो छानबिन गरे थाहा भइहाल्छ । यो डिपामा हामी ३ जना स्टाफमात्र काम गर्छाैं । तर, यहीँ काम गर्न ७/८ जना कर्मचारी चाहिन्छ । दैनिक ३५ वटासम्म सिटी स्क्यान गरेको छौं । बढी लोड पनि भयो जस्तो लाग्छ ।’


७ वर्षपछि जडान गरिएको थियो मेसिन
८ वर्षअघि डा. श्रीकृष्ण श्रेष्ठ मेडिकल सुपरिटेन्डेन्ट हुँदा अस्पतालमा सिटी स्क्यान बिग्रिएको थियो । श्रेष्ठकै कार्यकालमा ७० लाख रुपैयाँ खर्चेर ल्याएको मेसिन १ वर्षपछि बिग्रियो । त्यसपछि ७ वर्षसम्म क्षेत्रीय अस्पताल सिटी स्क्यानविहीन भयो । बिरामी ७ वर्षसम्म निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भए । सिटी स्क्यान गर्न निजीमा सरकारीभन्दा तेब्बर महँगो शुल्क लाग्छ ।


अस्पतालको माउ संस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खत्री निर्देशक नियुक्त भएसँगै साउनमा मेसिन जडान गरिएको थियो । सिटी स्क्यान मेसिन फिलिक्स कम्पनीसँग ७ करोड रुपैयाँमा किनेर ल्याइएको हो । मेसिन नेदरल्यान्डबाट नेपालको सीमामा ल्याउन १ वर्ष लागेको थियो । मेसिन खरिद गरिए पनि बिग्रिए ५ वर्षसम्म कम्पनीले नै जिम्मा लिनुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा दैनिक सयौं बिरामी निजी अस्पताल जान बाध्य हुन्छन् । हरियो खर्क अस्पतालसँग सम्झौता भए पनि बिरामीले इमर्जेन्सी सेवा लिन निजी अस्पताल धाउनुपर्ने बाध्यता भएको हो । बिरामीको एकपटक सिटी स्क्यान गर्दा सरकारी अस्पतालमा ३ हजार रुपैयाँ पर्छ । निजीमा भने ८ हजार रुपैयाँ लाग्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया