चरकमा निशुल्क मुटु जाँच जारी

समाधान संवाददाता २०८० जेठ २८ गते १२:०३

पाेखरा ।

आफ्नी स्वर्गीय आमाकाे स्मृतिमा बरिष्ठ मुटु राेग विशेषज्ञ डाक्टर सूर्य देवकाेटाले पाेखरामा निशुल्क मुटु राेग परिक्षण शिविर सञ्चालन गरेका छन् । कास्की लुम्लेका स्थायी बासिन्दा डाक्टर देवकाेटा मनमोहन कार्डियाे भास्कुलुर सेन्टर काठमाण्डुमा कार्यरत बरिष्ठ मुटु राेग विशेषज्ञ हुन् ।

पाेखरा नागढुङ्गास्थित चरक मेमोरियल हस्पिटलमा हिजाे शनिबारदेखि मुटुका राेगीहरुकाे निशुल्क स्वास्थ्य परिक्षण भैरहेकाे छ । पाेखरामा सामाजिक र खेलकुद क्षेत्रमा कृयाशिल सस्था टाइगर ग्रुप अफ नेपाल पाेखरा र चरक मेमाेरियल हस्पिटलकाे सहकार्य र सहयाेगमा शिवर सञ्चालन भएकाे हाे ।

Advertisement

शनिबारदेखि शुरु शिविर ३० गते मंगलबारसम्म जारी रहने अस्पतालका कार्यकारी निर्देशक कपिल पाेखरेलले समाधानलाई बताए । उनका अनुसार पहिलाे दिन मै सय भन्दा बढी बिरामीले शिविरबाट लाभ लिएका छन् ।

डाक्टर देवकाेटा अध्ययनकाे शिलशिलामा इटली रहेकाे बेलामा करिब ६ महिनाअघि उनकी आमा केला कुमारी देवकाेटाकाे निधन भएकाे थियाे । लामाे समयदेखिकी मुटुराेगी आमाकाे ८२ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

Advertisement

पढाई बिचमा छाेड्नै नमिल्ने भएका कारणले उनी आमाको अन्तिम दाहसँस्कारमा समेत सहभागी हुन पाएका थिएनन् । हालै आएर हिन्दु रिती रिवाज अनुसार किरिया कर्म गरेका देवकाेटाले आमाकै स्मृतिमा निशुल्क मुटु परिक्षण शिवर चलाएका हुन् ।

म सामान्य परिवारमा जन्मेकाे मान्छे हो, आमाले निकै दुख गरेर पढाउनु भएकाे हाे– देवकाेटाले आमालाई स्मरण गर्दै समाधानसँग भने–आमाले सधै दुखी र राेगीकाे सेवा गरेस् भन्नु हुन्थ्याे, त्यसैले आमाको आत्माले शान्ति पाओस् भनेरै शिवर सञ्चालन गरें ।

डा‍क्टर देवकाेटाले समय र परिस्थितले भ्याएसम्म आमाकाे स्मृतिमा हरेक वर्ष मुटुराेग परिक्षण शिविर सञ्चालन गरिरहने बताए । उनले मुटुका राेगी र मुटु राेग लागेकाे आशंका भएका सबैलाई निशुल्क शिविरमा परिक्षण गराएर फाइदा लिन अनुराेध गरेका छन् ।

शिविर अवधिभर चरक मेमोरियल अस्पतालले इसिजी र इकाे पूर्ण रुपमा निशुल्क उपलब्ध गराएकाे छ भने अन्य परिक्षण गर्नु परेमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराएकाे छ । स्वास्थ्य परिक्षण शुल्क पूर्ण रुपमा निशुल्क छ ।

तपाईको प्रतिक्रिया