तनहुँमा बोराभित्र महिलाको शव फेला

राष्ट्रिय समाचार समिति (रासस) २०८० जेठ ३० गते १७:२४

दमौली ।
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए ।

घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।”

Advertisement

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया