राहत दिनुपर्नेमा उल्टै घरभाडा बढाइएको व्यवसायीको दुखेसो

सञ्जय रानाभाट २०८० जेठ ३१ गते ११:१५

सञ्जय रानाभाट, पोखरा ।
गाउँबाट बजार क्षेत्रमा घर, कोठा वा फ्ल्याट भाडामा लिएर बसोबास गर्नेको संख्या प्रशस्त छ । बहालमा सटर/कोठा लिएर व्यवसाय गर्नेको जमात पोखरामा पनि ठूलो छ । यो ठूलो जमातकै बीच पोखरा महानगरपालिकामा एउटा यस्तो घटना बाहिरिएको छ, जहाँ डेरावालाले घरबेटीले अहात दिएको भन्दै वडा कार्यालयमा उजुरी दिएका छन् ।


लमजुङ घर भई पोखरा २६ कालिकाचोकमा व्यवसायी सञ्चालन गर्दै आएका विजय पराजुलीले घरबेटीले अत्याचार गरेको भन्दै न्यायका लागि वडा कार्यालयमा उजुरी दिएका हुन् । पोखरा २६ को वडा कार्यालयमा पराजुलीले घरबेटीले १० प्रतिशतका दरले भाडावृद्धि गर्नुपर्ने ५० प्रतिशत वृद्धि गरेको भन्दै न्याय माग्दै सोमबार उजुरी गरेका हुन् ।


पराजुलीले २०७६ जेठमा पोखरा २६ कालिकाचोकमा ४ कोठासहित एउटा सटर भाडामा लिएका थिए । उनले प्रत्येक महिना २८ हजार रुपैयाँ बहाल कर तिर्दै आए । तर, कोरोना महामारीले सुरुआती दुई वर्षपछि उनले दुई कोठा छाडे । जसको भाडा साढे १७ हजार रुपैयाँ तिर्नुपर्ने घरधनीले सर्त राखे । पराजुली सहमत भए ।

Advertisement

सटरको १० हजार, सानो कोठाको २५ सय र अर्को कोठाको ५ हजार तिर्दै आए । तर, उनले यो पैसा लामो समय तिर्न सकेनन् । फेरि केही महिनापछि ५ हजार तिर्दै आएको कोठा छाडे । कोठा भाडा साढे १२ हजार रुपैयाँमा झर्‍यो । तर, घरबेटीले कोठा छाडे पनि भाडा साढे १७ हजार तिर्नुपर्ने दाबी गर्दै आएपछि उनले वडा कार्यालयमा उजुरी दिएका हुन् ।


‘अब मैले मेडिकल सञ्चालन गर्न नसक्ने भएपछि कोठा सटर छाड्छु भन्दा घरबेटीले बाँकी एक लाख तिर्नुपर्ने भन्नुभयो म त अचम्ममा परेँ । त्यो पैसा मैले तिर्नुपर्ने देख्दिनँ,’ उनले भने, ‘मैले अहिलेसम्म बसेको भाडा साढे १२ हजार रुपैयाँको दरले तिरिसकेको छु । तर, उहाँले अझै १ लाख रुपैयाँ तिर्नुपर्छ भन्नुभएको छ । मैले कोठा छाडिसकेको छु । तर, उहाँले सटरको सामान निकाल्न दिनुभएको छैन ।’

Advertisement


उनले व्यवसाय नोक्सानीले पीडा दिइरहेको बेला घरबेटीले पनि पीडा थपेको बताए । ‘धनीले पूर्वाग्राही शैलीमा घरभाडा बढी माग्ने, मानसिक यातना तथा गाली बेइज्जती गरेको कुराहरु पनि रेकडहरूमा सुरक्षित,’ उनले उजुरीमा भनेका छन्, ‘एकजना युवा व्यवसायीमाथि यस्तो किसिमको अमानवीय व्यवहारविरुद्ध घरधनीलाई कारबाहीको माग गर्छु ।’


घरबेटीले घरबहाल कर पनि नतिरेको भनेर पनि उनले उजुरी दिएका छन् । बरु उल्टै आफूले घरबेटीको घरबहाल कर तिरिदिएको उनले सुनाए । बहालकर समेत निज घरधनीले आफू नै भुक्तानी गर्न लगाई आर्थिक शोषण गरेको उजुरीमा उनले लेखेका छन् । वडाले घरधनीलाई छलफलका लागि बुधबार डाकेको छ ।

‘घरभाडा ५० प्रतिशत छुट गरौं’
बहालमा लिएर व्यवसाय गर्ने व्यवसायी मर्कामा परेको भन्दै नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरधनीलाई सहुलियत दिन माग गरेको छ । व्यापार व्यवसाय ठप्प र आर्थिक संकलटको बेला भाडामा लिएर व्यवसायी गर्नेलाई ५० प्रतिशत घरबहाल मिनाहा गर्न आफूहरुको माग रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।


‘आर्थिक संकटमा व्यवसायीहरुलाई जोगाउन कुनै न कुनै रुपमा राहतका प्याकेजहरु दिलाउन सके ती व्यवसायी पलायन हुने थिएनन् भन्ने नै हाम्रो मूल उद्देश्य हो,’ उनले भने, ‘आर्थिक संकट बढ्दै गइरहेको, बैंकको ब्याजदर बढ्ने क्रमले पनि व्यवसायीहरु निरास बनाएका बेला घरबेटीले राहत दिनुपर्छ ।’ घरधनीले एडभान्स लिन पनि बन्द गर्नुपर्ने समितिको माग छ ।


समितिले घर बहाल कर घरधनी आफैले तिर्न अनुरोध गरेको छ । ‘भाडा समयमै भुक्तानी गर्न नसके पनि व्यवसायीलाई घर खाली गर्न बाध्य नपारौं,’ समितिले भनेको छ, ‘परिस्थिति सहज नभएसम्म बाचौं र बचाऔं भन्ने मूल मन्त्रलाई आत्मसात गरी सबैको हित हुने कर्म गरौं ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया