सार्वजनिक जग्गा जोगाउन वडाध्यक्ष र स्थानीय एक मत

समाधान संवाददाता २०८० असार ३ गते १५:१८

पोखरा ।
नेपालकै नमुना मानिने पोखराको अमरसिंह माविको जग्गा व्यक्ति र विभिन्न समूहको अतिक्रमणको चपेटामा छ । अमरसिंह खेल मैदान साँघुरिँदै गएको छ । विभिन्न व्यक्तिले व्यावसायिक प्रयोजनमा प्रयोग गरेको र अतिक्रमणको चपेटामा मैदान परेको गुनासो जग्गादाता गोविन्द घिमिरेको छ ।


सिँचाइका लागि पोखरा १२ हुँदै बगेको सेती नहरको उचित व्यवस्थापन नहुँदाको समस्या स्थानीयलाई छ भने अर्कोतिर नहरको जग्गा नै व्यक्तिले अतिक्रमण गर्दै घरको कम्पाउन्डभित्र पारेकोसमेत स्थानीय बताउँछन् ।


सेती नहर र सहायक कुलोका कारण सडकमै भेल बग्ने, नहरमै मरेका जनावरदेखि विभिन्न फोहोर फालिदिँदा सडकदेखि खेतबारीसम्म दुर्घन्धित हुने गरेको छ भने अर्कोतिर नहरको जग्गासमेत अतिक्रमण गरी संरचना बनिरहेको भन्दै सरोकारवालाले खबरदारी गरेका छन् ।

Advertisement


पोखरा १२ मा भएको सार्वजनिक सुनुवाइमा सबैभन्दा बढी सेती नहर र सार्वजनिक तथा सरकारी जग्गा संरक्षणबारे सेवाग्राहीले आवाज उठाए । पोखरा १२ प्रशस्त सार्वजनिक तथा सरकारी जग्गा भएको वडामा पर्छ भने यहीँ स्वास्थ्य, सरकारी कार्यालय र देशकै नमूना २ विद्यालय अमरसिंह र सितलादेवी मावि पनि छन् ।


तर, यहीको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीय र जनप्रतिनिधिको एकै स्वर छ ।

Advertisement

उनीहरु भन्छन्, ‘सरकारी तथा सार्वजनिक जग्गा जनताको सम्पति हो, गुम्न दिन्नौं ।’


वडामा पहिलो पटक भएको सार्वजनिक सुनुवाइमा अधिकांश सहभागीले सेती नहर, अमरसिंह स्कुलको जग्गा संरक्षण, पोखरा १२ मा बन्ने भनिएको महानगरको कार्यालय, अनुदानका कार्यक्रम र समान सहभागिताबारे जिज्ञासा राखे ।


डा. कृष्णप्रसाद पौडेलले पालिकाले सरकारी तथा सार्वजनिक जग्गाको पहिले लगत तयार पारेर गुरुयोजना बनाउनुपर्ने बताए ।

उनले भने, ‘सार्वजनिक जग्गा लेखाजोखा गर्ने काम वडाबाट गर्नुप¥यो । लगत आइसकेपछि योजना बनाउन सजिलो हुन्छ,’ डा. पौडेलले भने । अर्का स्थानीय डिलाराम लामिछानेले नहरको जग्गा व्यक्तिका घरको कम्याउन्डभित्र परेको गुनासो गरे । नहर अतिक्रमणको चपेटामा परेको र यसको व्यवस्थापन नहुँदा सितलादेवी क्षेत्र सधैंमा सडकमै ढल तथा बग्ने गरेको उनको भनाइ छ ।


सरकारी स्कुल तथा विभिन्न कार्यालय र सार्वजनिक जग्गा अतिक्रमण गर्ने, मिच्ने अधिकार कसैलाई नभएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘मैले अमरसिंह स्कुलको जग्गा अतिक्रमण भइरहेका बेला भनेको पनि छु, एक इन्च जग्गा छोड्नेवाला छैन ।

बाटो पनि स्कुलको जमिनबाट मात्र जाँदैन,’ बास्तोलाले भने, ‘अमरसिंह स्कुलको जग्गा संरक्षणका लागि महानगरको कार्यपालिकाबाटै निर्णय गर्छौं । त्यसपछि पक्का पनि हुन्छ ।’


सेती नहर सिँचाइ कार्यालय मातहत रहेकाले त्यसको व्यवस्थापनबारे आफूले पटक पटक समन्वय र पहल गरेको बास्तोलाको भनाइ छ । नहरको जग्गा संरक्षणमा सरकारी निकायमात्र नभएर स्थानीय व्यक्ति पनि सचेत हुनुपर्ने उनको भनाइ छ । दुर्घन्ध फैलाउने, फोहोरमैला हाल्नेलाई कारबाहीको दायरामा ल्याउने बास्तोलाले जनाए ।


वडाबासीले विकास, निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले अब मानवीय तथा सामाजिक विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् । वडाध्यक्ष बास्तोलाले अबको प्राथमिकता शिक्षा, स्वास्थ्य र मानवीय विकास हुने उल्लेख गरे ।


पोखरा १२ ले सिंगो वडाकै गुरुयोजना तयार पारिरहेको छ । ‘अब बन्ने भौतिक पूर्वाधार, मठ, मन्दिर, चौतारा, फल्चा, सार्वजनिक जग्गाको प्रयोगबारे गुरुपयोजनाले बोल्छ,’ सफल मिडिया हाउसले सहजीकरण गरेको कार्यक्रममा बास्तोलाले भने । देशकै उत्कृष्ठ र नमूना विद्यालयमा पर्ने अमरसिंह र सितलादेवी माविलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्न वडाले आगामी बजेटमा प्राथमिकतामा राखेको उनले बताए ।


पोखरा १२ ले ज्येष्ठ नागरिकको घरघरै पुगेर स्वास्थ्य परीक्षण गर्ने, युनडिपीको सहयोगमा फोहोर व्यवस्थापन गरिरहेको छ ।

पोखरा १२ मा मात्र चालु आर्थिक वर्षमा करिब ९ करोड रुपैयाँका कार्यक्रम कार्यान्वयन हुँदै छ । वडा तहबाटै छनोट भएर कार्यान्वयनमा भएको कार्यक्रममा अहिलेसम्म ९२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको वडा सचिव महेश्वर अर्यालले जनाए ।

तपाईको प्रतिक्रिया