कौसी र करेसाखेती प्रवद्र्धन गरिँदै

समाधान संवाददाता २०८० असार ४ गते १०:५३

पोखरा ।

पोखरा महानगरपालिकाले कौसी खेती र करेसा खेतीलाई प्रवद्र्ध गरिरहेको छ । पोखरामा रहेका वडामा कौसी खेतीलाई प्राथमिकता दिँदै निशुल्क र ५० प्रतिशत लगानीमा कम्पोस्ट बिन वितरण, मल बनाउने तालिम तथा अभिमुखीकरण चलिरहेका छन् ।


पोखरा १ ले शनिबार कम्पोस्ट बिन वितरण र अभिमुखीकरण आयोजना गरेको छ । वडाले १ सय १३ जनालाई कौसी खेती र करेसा खेतीका लागि कम्पोस्ट विन वितरण गरेको छ । त्यस्तै, १ हजार ८२ केजी प्राङगारिक मल वितरण गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले कौसी खेतीको निकै ठूलो महत्व रहेको जनाइन् ।

पर्यटनपछि पोखराको समृद्धिको पाटो कृषि भएकाले महानगर यसमा चनाखो रहेको उनको भनाइ छ । कौसी खेतिले फोहोर व्यवस्थापन र वातावरण सफा राख्न समेत भूमिका खेल्ने उनले औंल्याइन् ।

Advertisement


उपमेयर गुरुङले पोखरामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै दैनिक १ सय टन फोहोर उत्पादन हुने जनाइन् ।

त्यसमध्ये ६५ प्रतिशत कुहिने प्रकृतिको हुन्छ । ‘पछिल्लो समय पोखरामा फोहर व्यवस्थापनको ठूलो चुनौती छ । यो अवस्थामा केही फोहरबाट मल बनाएर कौसी खेतीमा प्रयोग गर्न सकियो भने ठूलो सहयोग हुन्छ,’ उनी भन्छिन्, ‘फोहोर व्यवस्थनमा टेवा पुग्नुका साथै स्वास्थ्य सरसफाइ, वातावरण र अर्थसँग जोडिएको कौसी खेती पोखराका लागि निकै महत्वपूर्ण छ ।’


महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले कौसी खेती फोहोर व्यवस्थापनको राम्रो माध्यम बन्ने जनाए ।

पोखराका वडा १ देखि १७ सम्म बजार क्षेत्र भएकाले यस क्षेत्रमा कौसी र करेसा खेतीबाहेक अरु विकल्प नरहेको उनले औंल्याए ।


वडा नम्बर १ का अध्यक्ष साहारा प्रधानले कृषिका लागि धेरै जग्गा नभएको तर कौसी र करेसा खेती गरी अर्गानिक तरकारी उत्पादन गर्न सकिने भएकाले यसलाई वडाले प्राथमिकता दिइएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया