कसेरीमा रोपाई महोत्सव हुने

समाधान संवाददाता २०८० असार ५ गते ११:१७

पोखरा ।
आउँदो असार १५ गते पोखरा महानगरपालिका १३ कसेरीमा १८ औं संस्करणको रोपाई महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव हुन लागेको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा रोपाई महोत्सवले थप टेवा पुर्‍याउने बताए ।


‘पोखरा सबै मौसमका लागि’ भन्ने भनाइलाई सार्थक बनाउँदै मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाई जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै लैजाने परिषद्का अध्यक्ष श्रेष्ठले सुनाए । परिषद्ले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराउने उद्देश्य रहेको जानकारी दिएको हो ।


पोखरा सुरक्षित रहेको र बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उत्कृष्ट, सबै मौसममा जान योग्य छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक कृष्णप्रसाद भण्डारीले बताए ।

Advertisement


पोखरा १३ र पोखरा २८ को सिमाना कसेरीमा करिब १० रोपनी क्षेत्रफलमा असारे महोत्सव हुन लागेको हो । खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले बताए ।


रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुने छन् । ५ सय विदेशीसहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सव आयोजना गर्न ३० लाख खर्च लाग्ने आयोजक अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया