व्यवसाय छोडेर डेढ महिनादेखि धर्नामा

साना व्यापारीलाई नलगाऊ छेउ, उचित भाडादर कायम गरी, गरी खान देऊ भन्दै हङकङ बजारका व्यवसायी धर्नामा छन्

समाधान संवाददाता २०८० असार ६ गते ११:०८

पोखरा ।
पृथ्वीचोकनजिकै हङकङ बजारमा कपडा पसल सञ्चालन गरिरहेकी पूर्णकला गिरी पसलमा बिरलै भेटिन्छिन् । ३ वर्षअघि १० लाखमा पसल किनेर कपडा खोलेकी गिरीलाई भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।


‘कोरोना महामारी र आर्थिक मन्दिले व्यापार सुस्ताएर आम्दानी नै छैन, घर व्यवहार धान्न गाह्रो भएको बेला भाडावृद्धि भएको छ, महँगीमा कसरी व्यापार गर्ने ?’, उनले भनिन् ‘फुटपाथमा फलफूल बेचेर गुजारा भएकै थियो, व्यवस्थित तरिकाले पसल सञ्चालन गर्दा सहज होला भनेर यता आइयो अहिले घरको न घाट भइएला भन्ने पीर छ ।’


जग्गाको भाडा ४ सय प्रतिशत बढेर नयाँ टेन्डर आएपछि गिरीजस्तै हङकङ बजारका व्यवसायी विरोधमा उत्रेका छन् ।

Advertisement

‘फुटपाथका व्यवसायीलाई व्यवस्थापन गर्ने भन्दै ल्याएको थियो फेरि फुटपाथमै फर्किनुपर्ने अवस्था आउन लागेको छ’

टेन्डरको विरोध गर्दै उनीहरु ४४ दिनदेखि धर्ना बसिरहेका छन् । जग्गाको भाडा बढेपछि साना व्यवसायीमा प्रत्यक्ष असर परेको गिरीले बताइन् । पसलमा पहिला जस्तो ग्राहक आउँदैनन्, कहिले त ४/५ दिनसम्म पनि बौनी नहुने उनले गुनासो राखिन् ।

Advertisement


८ वर्षदेखि जुत्ता, चपल, व्यागको व्यापार गर्दै आएका लीलाधर अधिकारीको पनि उस्तै समस्या छ । महँगीको मारमा परेको बेला सरकारले गरिरहेको जीविका खोस्न लागेको छ, कसरी बाँच्ने ? उनले प्रश्न गरे ।


‘फुटपाथका व्यवसायीलाई व्यवस्थापन गर्ने भन्दै यहाँ ल्याएको थियो फेरि फुटपाथमै फर्किनुपर्ने अवस्था आउन लागेको छ,’ व्यवसायी अधिकारीले भने, । त्यहाँ बाट निस्किन प¥यो भने त मर्ने होला, खाने बाटो नै नभई त कसरी बाँच्न सकिएला र ?


नेपालमै केही गर्नुपर्छ भनेर उनी १० वर्षे वैदेशिक रोजगारबाट नेपाल फर्केका थिए । ‘देशमै रगत र पसिना बगाएर देशको विकास र समृद्धिमा लाग्ने सोच थियो । देशले जीविका धान्न पनि नसक्ने अवस्थामा ल्याएको छ,’ उनले भने, ‘देशको अवस्थाले युवाहरु विदेश पलायन भएका छन् । देशमै रोजगार र बाँच्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ नत्र देशमा ठूलो संकट नआउला भन्न सकिन्न ।


पोखरा हङकङ बजार व्यवस्थापन समितिका उपाध्यक्ष संगम मरासैनीले टेन्डर प्रक्रिया खारेज गरी उचित मूल्यांकन गरी कृषि कम्पनी आफैंले भाडा व्यवस्थापन गरे वा कुनै सरकारी निकायलाई जिम्मेवारी दिएमा पोखरा हङकङ बजारका स्वरोजगार व्यवसायीलाई राहत पुग्ने बताए ।


साना व्यापारीलाई नलगाऊ छेउ, उचित भाडादर कायम गरी, गरी खान देऊ नारासहित टेन्डर प्रक्रिया खारेजीको माग गर्दै धर्ना बसिरहेको उनले जानकारी दिए । ‘ठेकेदार र बिचौलिया प्रथा अन्त्य गर्नुपर्ने हाम्रो माग हो, न्यायोचित भाडा तिर्न हामी तयार छौं र तिरीरहेका छौं,’ उनले भने, ‘बिहान १० बजेदेखि साँझ ४ बजेसम्म घाम पानी, भोक तिर्खा नभनी धर्ना बसेका छौं, हामी न त महँगो भाडा तिर्छौं न त ठाउँ छोड्छौं,’ उनले सुनाए ।


हङकङ बजार ब्रान्ड भइसकेको छ यो विस्थापित भयो भने उपभोक्ता पनि मारमा पर्ने उनले धारणा राखे । भाडा सस्तो भएकाले पोखराका अन्य बजारको मूल्यभन्दा सस्तोमा तरकारी, लत्ताकपडा, दैनिक उपभोग्य सामान उपलब्ध गराइरहेको बताउँदै उनले बजारबाट किसान, उत्पादन गर्ने व्यक्ति र उपभोक्तलाई प्रत्यक्ष प्रभावित भएको बताए ।


दीर्घकालीन व्यवस्थापन भनेर ल्याएको १० वर्ष नपुग्दै यहाँबाट निकाल्न षडयन्त्र गरेको समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले तर्क गरिन् । साविकमा भएको सम्झौता अनुसार हरेक वर्ष ८.३३ प्रतिशत भाडा वृद्धि गरेर तिर्दै आएकोमा सम्झौताको म्याद सकिएपछि एकचौटि ४ सय प्रतिशत वृद्धि हुँदा व्यवसायी मारमा परे गुरुङले जानकारी दिइन् ।


‘हाम्रो पसिना र लगानीले बनाएको ठाउँ हो त्यसै छोड्नेछैनौं, विस्थापित हुने अवस्था हुन लागेको छ तर महानगर, सम्बन्धित निकायलाई कुनै चासो छैन,’ गुरुङले भनिन् ।


फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न २०६९ फागुनमा तत्कालीन पोखरा उपमहानगरपालिका, नगर विकास समिति, क्रियाशील ७ राजनीतिक दल, पोखरा उद्योग वाणिज्य संघको सहमतिमा पृथ्वीचोकको खाली ठाउँमा स्थानान्तर गरिएको थियो ।

दीर्घकालीन व्यवस्थापन गर्न कृषि सामाग्री कम्पनि लिमिटेडको स्वामित्वमा रहेको जग्गा व्यवसायी नन्दप्रसाद तिवारीले लिजमा लिई पोखरा हङकङ सस्तो बजार खोलिएको थियो ।

तपाईको प्रतिक्रिया